मंसिर २६, २०८०
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
काठमाडाैं | जेठ ३१, २०८०
एक बोतल रक्सीका लागि मान्छेहरू केसम्म गर्दैनन्, आफ्नै बाउलाई कोदालोले हानेर मार्छन् । अर्कातिर एक गाग्री पानीका लागि मान्छेहरू केसम्म गर्दैनन्, सिंगो जीवनभरि कोदालो बोकेर हिँड्छन् ।
कोदालो बोक्न नसकेपछि चाहिँ गर्ने भनेको भ्यागुताको पूजा हो । सानो छँदा भ्यागुताको बिहेमा म पनि जन्ती गएको थिएँ । त्यतिबेला ताराखोलामा खडेरीले आलुको हरियो पातमा आगोको झिल्का देखिएको थियो । आलुलाई जोगाउन भगवान् इन्द्रलाई पुकारिएको थियो ।
कोही आकाशबाट भगवान इन्द्र बनेर बेलामौकामा बर्सिन्छन्, कोहीचाहिँ जमिनमा नै हाम्रै वरिपरि भगवान् बनेर झुल्किन्छन् । हाम्रा पुर्खाहरू पनि भगवानभन्दा कम थिएनन्, भरियाको तिर्खा मेटियोस् भनेर उकालीमा ढुंगेधारा बनाइदिन्थे । फरक यति हो, पहिले ढुंगा खोज्दा देउता मिल्थ्यो, अहिले देउता खोज्दा ढुंगा मिल्छ ।
ढुंगा बोकेर नै कहलिएका छन्, धरानका मेयर हर्क साम्पाङ । ढुंगालाई उनले श्रमदानसँग जोडेका छन् । पहिले पनि श्रमदान हुन्थ्यो । ढुंगामाटो बोक्ने काम हुन्थ्यो । फरक यत्ति हो, त्यतिबेला भिडियो खिच्ने क्यामेरा तथा आइफोनहरू थिएनन् । भन्न खोजेको कुरा के भने श्रमदानको सम्बन्ध पैसासँग हुँदैन । जस्तो कि केपी ओलीको पालामा पुनर्निर्माण शुरू भएर अहिले अन्तिम चरणमा पुगेको धरहरा पैसाको बलमा बनेको हो । तर, त्यही धरहरा भीमसेन थापाले श्रमदानको बलमा बनाएका थिए ।
म २४ तले महलको स्टुडियोमा सुतिरहेको हुन्छु, तर सपना गाउँकै काठको झुपडीको देख्छु किनकि त्यो झुपडी बनाउन मैले माटो खनेको छु । ढुंगा बोकेको छु । किला ठोकेको छु । अर्थात् मैले केही न केही श्रम गरेको छु । श्रम संस्कृतिभित्र एउटा सपना हुँदोरहेछ । र, त्यो सपनाभित्र एउटा जीवन हुँदो रहेछ ।
धरानका मेयर हर्क साम्पाङ रातभरि पकुवा खोलाको बगरमा बसेर एउटा सपनाको प्रतीक्षामा जागाराम थिए । त्यो सपनाभित्र खानेपानीको विपना थियो । झण्डै ४२ किलोमिटर लामो दूरी पूरा गरेर धरान आइपुगेको कोकाहा खोलाको पानी देखेर हर्क आँसु झार्दै थिए । पाइपबाट पानी बगिरहेको थियो । शायद उनको आँखाबाट चाहिँ एउटा सपना बगिरहेको थियो ।
एकातिर हर्क हर्षित छन्, अर्कातिर जनताहरू खुशियालीमा नौमती बाजा बजाएर छमछमी नाँचिरहेका छन् । कोही गीत गाइरहेका छन्, कोही पाइपबाट झरेको पानीमा नुहाइरहेका छन् । पानीको धाराले शरीरको मैलो मात्रै हैन, सपनाको मैलो पनि पखाल्दोरहेछ । एउटा मनको मैलो पनि पखाल्दोरहेछ ।
निकै अप्ठ्यारो भीरपाखाको बाटो र जंगल छिचोल्दै झण्डै ४२ किलोमिटरको यात्रा पूरा गराएर हर्कले पानी ल्याएरै छाडे । आफूलाई लागेका मुद्दाको जवाफ गीतमार्फत नै दिए । तर, हर्कले गीत मात्रै गाएनन्, हातमा ठेला पनि उठाए । त्यो हातले के-के मात्र उठाएन, हाते माइक उठायो, गितार उठायो, गैँची उठायो, वास्तवमा हतियारबाहेक सबै उठायो ।
हर्क साम्पाङ मेयर भएलगत्तै खानेपानीको स्रोत खोज्न थालिएको थियो । भेटिएका स्रोतबाट पानी ल्याउन कि त ठूलै लगानी, कि श्रमदान मात्र विकल्प थियो । उनले श्रमदान रोजे । आफैंले सिटी फुकेर अभियानको नेतृत्व गरे ।
हर्कले एकपटक सिटी फुक्दा हजारौं मानिस भेला भए । देश बनाउने भनेर टेलिभिजनमा फुक्नेहरू हर्कले सिटी फुकेको देखेर छक्कै परे । हर्क आफैंले पनि छक्क परेको गीत गाए ।
कोही अभिनय गरेर हिरो हुन्छन्, कोही काम गरेर हिरो हुन्छन् । पाइप तान्नका लागि जब मेयर स्वयं फिल्डमा खटिए, तब उनलाई सघाउनेको ओइरो लाग्यो । यतिसम्म कि फिल्म खेल्ने हिरोइनहरू समेत हिलो लागेपछि चिप्लिएला जस्तो सर्लक्क परेको खुट्टा लिएर हर्कलाई भेट्न पकुवा खोलाको बगरमा पुग्न भ्याए ।
धरानमा खानेपानीको समस्या समयक्रमसँगै समाधान होला । अहिले नै सबैलाई पानी पुगे वा नपुगे पनि उनले जुन श्रम संस्कृति सिकाउन खोजेका छन्, त्यो स्थापित भैसक्यो । श्रम गर्दा शरम मान्नुहुँदैन भन्ने सन्देश निकै जब्बर ढंगले दिएका छन् । उनले नेतृत्व के हो र कस्तो हुनुपर्छ भनेर बुझाउन खोजेका छन् । उनको काम हेर्दा लाग्छ, सरकार भनेको अरू केही पनि हैन, केवल जनताको श्रम हो ।
धरानका मेयरले जसरी खानेपानीका लागि काम गरिरहेका छन्, ठीक त्यसैको झल्को दिनेगरी धेरै वर्षअगाडि चीनको एउटा गाउँमा पनि खानेपानीका लागि कठोर संघर्ष गरिएको थियो । हर्कले श्रमदानको संस्कार आफैं सिके कि अन्त कतै देखेर प्रभावित भए, त्यो त उनले मात्रै बताउन सक्लान् । तर, श्रमदानका कारण संसारमा असम्भव ठानिएका धेरै काम सम्भव भएको साँचो हो ।
पहाडको निकै दुर्गम गाउँका ८५ वर्षीय वृद्ध ह्वाङ डाफा एकाएक विशाल चीनभरि चर्चामा आए । चीनको क्विचाउ प्रान्तस्थित जुनिको काओवाङ्बाका डाफाले आफ्नो जीवनकालको ३६ वर्ष गाउँमा पानी ल्याउनका लागि समर्पित गरेका थिए ।
कार्स्ट पहाडको छेउमा ९.४ किलोमिटर 'जीवन नहर' बनाउनका लागि ह्वाङले एकल प्रयास र श्रमदानको नेतृत्व गरेका थिए । काओवाङ्बाका मानिसहरूले अन्ततः पर्याप्त पानी पिउन पाए । साथै धान र अन्य बालीहरूलाई सिँचाइ गर्न, आम्दानी बढाउन र जीवनस्तर सुधार्न मद्दत पुगेको छ ।
ह्वाङको जन्म सन् १९३५ मा काओवाङ्बा गाउँमा भएको थियो । आमाबुवा दुबैको मृत्यु उनी सानै छँदा भएको थियो । उनलाई छिमेकीहरूले हुर्काए । बाल्यकालदेखि नै कष्टकर जीवन बिताएका ह्वाङले पुस्तौंदेखि खानेपानीको अभावमा गाउँलेहरू पीडित बनेको देखे/भोगेका थिए ।
गाउँमा थुप्रै समस्याहरू थिए, तर त्यसमघ्ये मुख्य समस्या खानेपानीकै थियो । त्यसलाई हल गर्नका लागि ह्वाङ राजनीतिमा संलग्न भए । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को सदस्य बने । उनले दक्षिण-पश्चिम चीनको क्विचाउ प्रान्तस्थित जुनिको काओवाङ्बा गाउँमा पुस्तौंदेखि काकाकुल नियति भोगिरहेका बासिन्दालाई ३६ वर्षको कठोर श्रमको बलमा पानी दिन सफल भए ।
पहाडी शृङ्खलाहरूभित्र लुकेको काओवाङ्बा (अहिले जुनिको बोझाउ जिल्लाअन्तर्गत तुआन्जी) गाउँ लामो समयदेखि पानीको अभावले समस्यामा परेको थियो । स्थानीयहरू गरीबीमा फस्नुको मुख्य कारण नै पानी थियो । त्यहाँको मुख्य बाली मकै थियो । चामल त चिनियाँ नयाँ वर्ष तथा विशेष अवसरहरूमा मात्र पाइन्थ्यो । आफैं धान उब्जाउनका लागि पर्याप्त पानी थिएन ।
२३ वर्षको उमेरमा नै ह्वाङ चिनियाँ कम्युनिस्ट पार्टीमा सामेल भए अनि गाउँको प्रमुखमा निर्वाचित भए । त्यही बेला उनले गाउँका लागि नहर बनाउने वाचा गरेका थिए । तर पहाडी गाउँमा नहर खन्नु सजिलो थिएन । टेक्नोलोजी र उपकरणको कमीका कारण ह्वाङ र केही सहयोगीहरू मिलेर बाँसको खम्बाको सहायताले नहरको मापन गरे । भित्ताका खाडलहरूमा सिमेन्टविना पहेंलो माटो प्रयोग गरियो ।
कठोर चुनौतीका बावजुद पनि ह्वाङले हार मानेनन् । उनी हरेक दिन करीब दुई सयभन्दा बढीको टोलीसँगै पहाडमा जान्थे । एउटा निर्माण टोलीले अगाडिका चट्टानहरूमा ढलानजस्तो गोरेटो बनाउथ्यो र बाँकी गाउँलेहरूले पछाडि पर्खाल बनाउन माटो बोक्थे ।
डाफा र उनका गाउँलेहरूको कडा परिश्रम अन्ततः सार्थक भयो । सन् १९९५ मा २२०० मिटर शाखाहरू भएको ७२०० मिटर लामो नहरले पानी आपूर्ति गर्न थाल्यो । त्यो नहर ठूल्ठूला पहाड तथा चट्टान छिचोलेर बग्छ, जसले तत्कालीन समयमा १० हजार गाउँलेको तिर्खा मेटाइदिन थाल्यो ।
नहर औपचारिक रूपमा प्रयोगमा ल्याएको दिन स्थानीय मानिसहरूको भीड लागेको थियो । सबै हर्षित थिए । ताली र पटाकाको ध्वनिसहित उत्सव मनाउँदै भोजन समेत गरेर रमाइलो मनाइयो । काओवाङ्बाका गाउँलेहरूको शताब्दी लामो सपना अन्ततः साकार भयो । जब गाउँलेहरूले ह्वाङलाई भाषण दिन आग्रह गरे, उनी बोल्न सकेनन्, चुपचाप उभिए । उत्साहको आँसु बगाउन पनि सकेनन् ।
उनले यो नहर खन्ने अठोट गर्दाको समय (सन् १९५९) निकै कष्टकर थियो । गाउँमा झन्डै एक वर्षसम्म पानी परेन । खडेरीका कारण इनारबाहेक ताजा पानीका सबै स्रोत हराइसकेका थिए । खडेरीले खेतीपाती पनि सुकाएको थियो । दुर्गम र यातायातको समेत सुविधा नभएका कारण कतैबाट पनि खाद्यान्न ल्याउन मुस्किल थियो ।
इनारबाट धेरै पानी निकाल्दा त्यो पनि सुक्ने सम्भावना थियो । काओवाङ्बामा राम्रो जीवनको आशा नभएकाले गाउँलेहरू अन्य गाउँमा बसाइ सर्ने सोचमा थिए । तर, केही माइल टाढाको ऐबिया गाउँमा पानी थियो । दुई गाउँको बीचमा रहेको पहाड छिचोलेर पानी ल्याउनु नै सबै समस्याको समाधान थियो । ह्वाङ गाउँको नेता बनेपछि नै समस्या समाधानको विकल्प सोच्न थालिएको थियो ।
'मैले गाउँलेहरूका लागि तीनवटा काम गर्ने निर्णय गरें- पहिलो गाउँमा पानी ल्याउने, दोस्रो सडक निर्माण गर्ने र तेस्रो बिजुलीको पहुँच दिने,' ह्वाङले आफ्ना शुरूआति दिन सम्झिँदै चिनियाँ मिडियासँग भनेका छन्, 'नजिकैको अर्को गाउँमा पानी थियो, तर बीचको विशाल पहाडमा ठूलो नहर नबनाएसम्म पानी आउने अवस्था थिएन ।'
उनले त्यही पानी गाउँसम्म ल्याउने विकल्प खोजे । गाउँलेलाई सपना देखाए, अनि पूरा पनि गरे ।
शुरूमा त पानी ल्याउने कुरा गर्दा धेरैले विश्वास गरेनन् । कतिपयले गिल्ला समेत गरे । तर, ह्वाङ आफ्नो अठोटमा प्रतिबद्ध थिए । कसैको कुरा नसुनी अगाडि बढे । त्यस्तो पहाडमा पानीको नहर खन्ने काम देवताहरूले मात्रै सफल गर्न सक्छन् भन्ने स्थानीयको तर्क थियो ।
हुन पनि शुरूआति चरणमा नहर खन्ने काम राम्रो ढंगले अगाडि बढ्न सकेन । १० वर्षभन्दा धेरै समय मेहनत गर्दा पनि काम सफल हुने लक्षण देखिएको थिएन । धेरैले आशा मारिसकेका थिए, तर उनी थाकेनन् ।
अहिले उक्त नहरबाट गाउँमा पानी पुग्छ । गाउँमै धान उब्जिन थालेको छ । समयक्रमसँगै गाउँमा बिजुली र सडक पनि पुगेको छ । कृषि र पशुपालनबाट स्थानीयको जीवनशैली नै फेरिएको छ । ह्वाङलाई आधुनिक 'यू गोङ' भनिन्छ, जुन चिनियाँ लोककथामा वर्णित एक आदर्श पात्र हो । चिनियाँ समाजमा प्रचलित पौराणिक कथाअनुसार यूले आफ्नो घरअगाडि रहेका दुई ठूल्ठूला पहाड सार्न आग्रह गरे, ताकि सुविधाजनक जीवन बिताउन सकियोस् । ती पहाड सार्ने शक्ति उनलाई भगवानबाटै प्राप्त भयो । घर अगाडिको पहाड नै सार्ने परिकल्पना गर्नु र त्यसलाई पूरा गर्नु जस्तो 'मूर्खता' थियो, त्यस्तै 'मूर्खता' ह्वाङले गरेका थिए ।
ह्वाङको सम्मानमा खानेपानीको उक्त नहरलाई 'डाफा नहर' नाम दिइएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिले उत्कृष्ट सदस्यहरूलाई प्रदान गर्ने पदक प्राप्त गर्ने २९ जनामध्ये ह्वाङ एक हुन् ।
उनको जीवनीमा आधारित डकुमेन्ट्री समेत बनेको छ । ह्वाङ डाफाको भूमिकामा अभिनेता झेङ क्वियाङ देखा परेका छन् ।
उनी अहिले ८२ वर्षका भए । अहिले पनि बेलाबेलामा नहरमा पुग्छन् । कुनै अवरोध भए त्यसलाई हटाउँछन् । उनी भन्छन्, 'यो नहर मेरो बच्चा जस्तै छ, म यसलाई सकेसम्म जोगाउँछु ।'
निश्चित लक्ष्य र अठोटका साथ लाग्ने हो भने असम्भव केही छैन भन्ने उदाहरण हो यो ।
२३ वर्षकै उमेरमा ह्वाङले आफ्नो सपना सुनाउँदा गाउँलेहरूले पागलसम्म भनेका थिए । हुन पनि अजंगको पहाड र भीरपाखा छिचोलेर पानी ल्याउन सजिलो थिएन । तर, पनि उनमा आफ्नो प्यारो गाउँलाई बचाउने दृढ अठोट थियो ।
काम सजिलो थिएन, ज्यानकै जोखिम पनि थियो । कतिपयले बीचमै श्रमदान गर्न छाडे, तर ह्वाङले हार खाएनन् । कहिल्यै पूरा नहुनेजस्तो देखिएको कामलाई पूरा गरेरै छाडे ।
वास्तवमा उनी आफ्नो सपनाप्रति यति समर्पित थिए कि यसरी अगाडि बढ्न सकिँदैन भन्ने भएपछि आफ्नो परियोजनालाई ३ वर्ष रोकेर इन्जिनीयरिङको ज्ञान लिए । त्यसपछि सही ज्ञान र स्पष्ट भिजनसहित उनले कामलाई पूर्णता दिएका थिए । ३६ वर्षको निरन्तर प्रयासपछि काओवाङ्बा गाउँमा पानी बगेरै छाड्यो । जवानीमा शुरू गरेको काम पूरा हुँदा ह्वाङ वृद्ध भइसकेका थिए ।
नेपालमा अहिले त्यस्तै घटनाक्रम देखिएको छ । समय र प्रविधिको विकासले छोटो समयमै किन नहोस्, धरानका मेयर हर्क साम्पाङले आफूलाई नेपाली समाजका 'ह्वाङ डाफा'को रूपमा प्रमाणित गरेका छन् ।
आजको मशिनरी युगमा धरानतिर गैँची बोकेर हिँड्ने मानिसहरू बाक्लै देखिन्छन् । ढुंगा बोक्नु प्रतिष्ठाको विषय बनेको छ । खोलाको बगर र जंगलमा निदाउनु महान मान्छेको परिचय बनेको छ । हर्कले ढुंगा बोक्न बोलायो भनेर खिस्सी गर्नेहरू पनि यतिखेर अचम्म मान्दै होलान् ।
चिनियाँहरूको नजरमा ह्वाङ डाफा त 'यू गोङ' हुन्, अनि हाम्रा हर्क साम्पाङलाई चि के भन्नेर चिन्ने अब ? जिम्मा पाठककै हातमा ।
तस्वीरहरू : सामाजिक सञ्जाल तथा एजेन्सीहरूको सहयोगमा
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...