
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सुर्तीजन्य पदार्थको करवापत् संकलन भएको सबै रकम आफ्नो मन्त्रालयले पाउनुपर्ने दाबी गरेका छन् ।
ऐन, कानून र नियमावलीमा सुर्तीजन्य पदार्थको करवापत् उठेको रकम स्वास्थ्य मन्त्रालयले नै पाउनुपर्ने व्यवस्था भएको उनले बताए । तर, नियमावलीअनुसार बजेट विनियोजन नभएकोमा उनको आपत्ति छ ।
उनका अनुसार सुर्तीजन्य पदार्थको करबाट हाल ६ अर्ब रकम उठेको छ । सोमध्ये सरकारले बजेटमा ४० करोड मात्रै स्वास्थ्य मन्त्रालयलाई विनियोजन गरेको छ ।
बुधबार प्रतिनिधिसभा अन्तरगतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री बस्नेतले ६ अर्ब बजेटनै कानूनी रूपमा आफ्नो मन्त्रालयले पाउनुपर्ने जिकिर गरे । ‘सुर्तीजन्य पदार्थमा उठेको ६ अर्ब करमध्ये यो वर्ष ४० करोड मात्र पाएका छौं,' उनले भने, 'राज्यको कानूनले व्यवस्था गरेको त्यो ६ अर्ब हामीले किन नपाउने ? त्यो भयो भने ४० प्रतिशत समस्या समाधान गर्ने कुरामा हामी अघि बढ्न सक्छौं । ४० प्रतिशत भनेको ठूलै फड्को हो ।’
उनले सो बजेट मन्त्रालयलाई उपलब्ध गराए दरबन्दीसम्बन्धी सबैभन्दा ठूलो समस्या हल गर्दै लैजान सकिने योजना सुनाए ।