काठमाडौं, २४ भदौ - निर्वाचन आयोगले उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार र जलस्रोत राज्यमन्त्री अमर सिंह पुनले आचारसंहिता उलंघन गरेको भन्दै २४ घण्टे स्पष्टिकरण सोधेको छ ।
आयोगका प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवको अध्यक्षतामा शनिबार बसेको बैठकले गच्छदार र उनी सम्बद्ध नेपाल लोकतान्त्रिक फोरमका नेता कार्यकर्ताहरूले पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकामा २०–२५ वटा गाडीहरू र १०० वटाभन्दा बढी मोटरसाइकलसमेतको ¥याली—जुलुस निकाली निर्वाचन आचार संहिता उल्लंघन गरेको उजुरी परेपछि स्पष्टिकरण सोधेको हो ।

आयोगको निर्णयमा ‘गच्छदारसहित नेपाल लोकतान्त्रिक फोरम पार्टीका नेता कार्यकर्ताहरूले निर्वाचन आचार संहिता, २०७२ को दफा ५(१३) र स्थानीय तह निर्वाचन आचार संहिता, २०७३ को दफा ४
(क) विपरीत गाडी तथा मोटरसाइकलहरूको ¥याली निकाली आचार संहिता उल्लंघन गरेको देखिएकाले निर्वाचन आचार संहिता उल्लंघन गरेवापत किन कारवाही गर्न नपर्ने हो ? भनि २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न लगाउने’ भनिएको छ । यसैगरी निर्वाचन आचार संहिता उल्लंघन गरेवापत वीरगञ्ज महानगरपालिकाका नेपाल लोकतान्त्रिक फोरमका तर्फबाट उम्मेदवार विमल प्रसाद श्रीवास्तवलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (४) बमोजिम निजको उम्मेदवारी रद्द गर्न नपर्नुको कारण समेत २४ घण्टाभित्र पेश गर्न आयोगले निर्देशन दिएको छ ।
यसैगरी जलस्रोत राज्यमन्त्री अमर सिंह पुनले बाराको जितपुर सिमरा उपमहानगरपालिका ११ फत्तेपुरमा कांग्रेस कार्यकर्तालाई सरकारी गाडीमा राखेर निर्वाचन प्रचारप्रसार गर्दै हिँडेको भन्ने सन्दर्भमा परेको उजुरीसम्बन्धी आयोगको निर्णयमा भनिएको छ, ‘निर्वाचन आचार संहिता, २०७२ को दफा ४(ङ) विपरीत सरकारी साधन स्रोतको दुरूपयोग गरी निर्वाचन आचार संहिताको उल्लंघन गरेवापत जलस्रोत राज्यमन्त्री अमर सिंह पुनलाई किन कारबाही हुनु नपर्ने हो ? सो को स्पष्टीकरण २४ घण्टाभित्र आयोगमा पेश गर्न लगाउने ।’
आयोगले आगामी असोज २ गते हुने तेस्रो चरणको स्थानीय निर्वाचन लक्षित आचारसंहिता उलंघन गर्नेलाई कडा कारबाही गर्ने बताउँदै आएपनि स्पष्टिकरण पेश गराएर उन्मुक्ति दिँदै विगतको उदाहरणबाट देखिन्छ ।