
आर्थिक अनियमिततामा मुछिएका नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठलाई कारवाही गर्नुपर्ने ठाउँमा राष्ट्रिय खेलकुद परिषद्ले उनकै अध्यक्षतामा तदर्थ समिति गठन गरेको छ ।
२०८० जेठ २९ गतेको निर्णयबाट राखेपले श्रेष्ठको अध्यक्षतामा ४० सदस्यीय तदर्थ समिति गठन गरेको हो ।
खेल संघ स्थापनासम्बन्धी मापदण्ड पूरा गरी ३ महिनाभित्र विधान मस्यौदा तयार गरेर परिषदको स्वीकृतिमा साधारण सभा तथा निर्वाचन गर्नेगरी श्रेष्ठकै संयोजकत्वमा केद्रीय कार्य समितिको तदर्थ समिति गठन गरिएको हो ।
राखेपका सदस्य सचिव टंकलाल घिसिङले माओवादीबाट प्रतिनिधित्व गर्ने र अध्यक्ष श्रेष्ठ पनि माओवादीनिकट भएकाले घिसिङले श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको एक सदस्यको आरोप छ ।
साउथ एसियन गेममा भ्रष्टाचार गरेको आरोप लागेपछि कारवाहीमा परी राजीनामा दिएका तत्कालीन उपमहासचिव लवभक्त श्रेष्ठलाई पनि तदर्थ समिति सदस्य बनाइएको छ ।
राखेपबाट अवकाश पाएका उनी खेलकुद नियमावलीसम्बन्धी जानकार भएकाले त्यसको फाइदा उठाउनका लागि अध्यक्ष श्रेष्ठले नियुक्ति दिएको ती सदस्यको आरोप छ ।
संघका केही पदाधिकारीहरू राखेपको उक्त निर्णयविरुद्ध अदालत जाने तयारीमा समेत रहेको उनले बताए ।