
मोरङको ग्रामथान गाउँपालिका–५ की कलावति शर्मा मंगलवार बिहानै नागरिकता लिन जिल्ला प्रशासन कार्यालय आइन् । सात महिनाको छोरो बोकेर उनी बिहानैदेखि लाइनमा थिइन् । ‘म यहाँ आइपुग्दा ४ सय जति मानिसहरूको लाइन थियो,’ बिहान ९ बजे लाइनमा भेटिएकी उनले भनिन्, ‘अहिले ६ सय बढी पुगिसकेका छन् ।’
लाइनमा २६ वर्षीया कलावति मात्रै थिइनन् । उनकी सासूआमा पनि थिइन् । सासूआमा रमादेवी ७० वर्ष पुगिन् । रमादेवीले पनि अहिलेसम्म नागरिकता पाएकी छैनन् । असार महिनाको चर्को घाममा सासू–बुहारी नै नागरिकता लिन बिहानैदेखि लाइनमा थिए ।

‘घरको काम छोडेर नातिसहित सासू-बुहारी नै आएका छौँ,’ रमादेवीले भनिन्, ‘नाति रोइरहन्छ । एक जनाले पानी तथा खानेकुरा लिन पसल गइरहनु पर्छ । लाइन छाड्नेवित्तिकै अरू आइहाल्छन् । फेरि पछाडि परिन्छ ।’ उनले वृद्ध भत्ता पाउन नागरिकता बनाउन आएको सुनाइन् ।
विराटनगर–१७ की दुई खातुन पनि दुधे बच्चा बोकेर बिहान ८ बजेदेखि लाइनमा थिइन् । ३६ वर्षकी खातुनले आफ्नो छोरा हेर्न बुबा जिलाउडिन अन्सारीलाई साथमै लिएर आएकी थिइन् । बुबा जिलाउडिन छोरीको कागजपत्र बोकेर लाइनमा बस्थे भने दुई नानी लिएर बुबाकै आसपासमा बस्थिन् ।
कलावति र दुई प्रतिनिधि पात्र हुन् । अहिले जिल्ला प्रशासन कार्यालय मोरङमा दैनिक नागरिकता बनाउनेहरूको लाइन हुने गरेको छ । सयौंको संख्यामा नागरिकताविहीनहरू नागरिकता बनाउन राति २ बजेदेखि नै लाइनमा बस्ने गरेका छन् । ‘बिहान ४ बजे उठेर हेर्दा १ सय बढीको संख्यामा भेला भइसकेका थिए,’ जिल्ला प्रशासन कार्यालयका कार्यालय सहयोगी केशव भण्डारीले भने, ‘कति बजेदेखि बसेको भनेर सोध्दा राति २ बजेदेखि भनेर सुनाउँथे ।’
सर्वोच्च अदालतले जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता दिन बाटो खोलेपछि जिल्ला प्रशासन कार्यालयमा नागरिकता लिनेको भिड लाग्ने गरेको हो । टोकन लिनकै लागि रातिदेखि लाइन बस्नु पर्ने बाध्यता नागरिकको छ । भात पनि नखाई बिहान ६ बजेदेखि लाइनमा बस्नु परेको विराटनगरका किशन कुमार यादवले बताए । उनले लाइन छोड्दा पालो नपाइने डरले भात र पानी नै नखाई लाइनमा बसेको सुनाए । ‘आज टोकन नपाए राति जिल्ला प्रशासनअगाडि ओछ्यान लगाएर सुत्ने योजना बनाएका छौं,’ उनले भने, ‘घरबाट झुल र सिरानी ल्याउन लगाई सकेको छु । म्याट यतै किन्ने हो ।’ तराईंको प्रचण्ड गर्मीमा नागरिकताविहीन छाता ओढेर लाइनमा बसिरहेका छन् ।

जिल्ला प्रशासन कार्यालयले एक लटमा ४० जनालाई टोकन दिने गरेको छ । एक पटकमा ४० जनालाई टोकन दिने गरेको सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोख्रेलले बताए । जन्मसिद्धका सन्तानलाई नागरिकता दिन प्रशासनले छुट्टै कोठाको व्यवस्था गरे पनि जनशक्ति र कम्प्युटर अभाव हुँदा समस्या भएको पोख्रेलको भनाइ छ । ८० हजार हाराहारीमा आवेदन पर्न सक्ने जिल्ला प्रशासन कार्यालयको अनुमान छ ।
‘वंशजको नागरिकताका लागि छुट्टै कोठा र तीन जना कर्मचारी राखेका छौं,’ प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले भने, ‘प्रतिलिपिसहित दैनिक १५० वटाभन्दा बढी नागरिकता जारी गर्दै आएका थियौं । त्यो काम पनि रोक्न मिल्दैन । जनशक्ति र स्रोतको व्यवस्थापन गरिदिन भनेर गृह मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयमा पठाएका छौँ,’ उनले भने ।
दुईवटा इलाका प्रशासन कार्यालय र जिल्ला प्रशासनबाट सोमवार १२८ जनालाई नागरिकता वितरण गरिएको थियो । इलाका प्रशासन कार्यालय उर्लाबारी, रङ्गेली र जिल्ला प्रशासन कार्यालयबाट नागरिकता वितरण गर्ने गरिन्छ । जिल्ला प्रशासनबाट दैनिक ५० देखि ६० जनालाई नागरिकता वितरण गर्ने लक्ष्य रहेको छ ।

जिल्ला प्रशासन कार्यालय भने तीनै तहका सरकारसँग जनशक्ति र बजेटको व्यवस्थापन गरिदिन आग्रह गर्दै आएको छ ।
प्रक्रियासमेत झन्झटिलो भएको सेवाग्राहीले गुनासो गरेका छन् । बुबा–आमाको नागरिकता, वडाको सिफारिस, बसाइँसरी आएको भएमा बसाइँसराई दर्ताको प्रमाण, स्थानीय बसोबास प्रमाणित पारिवारिक विवरण, व्यक्तिको जन्म दर्ता, शैक्षिक योग्यताको प्रमाणपत्र र नाबालक परिचयपत्र अनिवार्य लिएर जानु पर्ने प्रावधान छ ।
सक्कल नाता प्रमाणित, बाबुआमाको विवाह दर्ताको प्रमाणपत्र, बाबु आमाको मृत्यु भइसकेको भए मृत्यु दर्ता प्रमाणपत्र, जग्गाधनी प्रमाण पुर्जा तथा स्थायी बसोबास सिफारिस, व्यवसाय दर्ता प्रमाणपत्र, २०६३ सालको टोलीमा नाबालक दर्ता गराएको भए सोको निस्सा र स्वघोषणा गरेको प्रमाण लिएर गएपछि जिल्ला प्रशासनले कागजात हेरेर मात्रै टोकन दिने गर्छ । आमाको नामबाट भने जिल्ला प्रशासनले नागरिकता दिने गरेको छैन । आमाको नामबाट मात्रै नदिँदा अरु पनि नागरिकता पाउनबाट वञ्चित हुने भएका छन् ।