
रामनदीधाम राम्दीमा गण्डकी प्रदेश र लुम्बिनी प्रदेश जोड्ने नमूना पुल बन्ने भएको छ ।
सिद्धार्थ राजमार्ग सडकखण्ड अन्तर्गत कालीगण्डकी नदीमाथि नयाँ डिजाइनसहित मोटरेबल पुल बन्न लागेको हो ।
नेपाल–भारत सुनौली नाकाबाट सिद्धार्थ राजमार्ग हुँदै स्याङ्जा, पोखरा, पर्वत, म्याग्दी, बागलुङ, लमजुङ, मुस्ताङ र मनाङ जोड्ने यो छोटो बाटो हो । पुरानो पुल २०२८ सालमा निर्माण भएको हो । हाल सञ्चालनमा रहेको पुल जीर्ण बनेपछि सरोकारवालाले नयाँ पुल बनाउन माग गर्दै आएका थिए ।
पुल महाशाखाले ‘आर्च थु्र’ डिजाइनको मोटरेबल पुल निर्माणको जिम्मा, रेखदेख, ठेक्का सम्झौतालगायत काम गरेको छ । राम्दीमा बन्न लागेको मोटरेबल पुलको डिजाइन अमेरिका र थाइल्यान्डमा पुल निर्माणको क्षेत्रमा काम गरेका नेपालीले तयार पारेको पुल सेक्टर पोखराका प्रमुख नवराज बाँस्तोलाले बताए ।
आर्च थ्रु डिजाइनमा निर्माण हुन लागेको मोटरेबल पुलको लम्बाइ १०८ मिटर र चौडाइ ११ मिटरको हुने छ । नयाँ बन्ने पुल पुरानो ट्रस ब्रिजभन्दा १५ मिटर बढी लामो र पुरानो पुलसँग जोडेर पूर्वपट्टि निर्माण हुनेछ ।
पुल ३ वर्षमा सक्ने गरी २०७९ असार ३० गते हिम सगरमाथा प्रालि चितवनसँग ठेक्का सम्झौता भएको थियो । ‘डिजाइन समयमै तयार नहुँदा निर्माणमा ढिलाइ भएको हो,’ बाँस्तोलाले भने । पुल निर्माणका लागि २७ करोड ७१ लाख रुपैयाँको सम्झौता भएको छ ।
ट्रस ब्रिज जीर्ण हँुदा सवारीसाधन आवागमनमा खतरा भएको गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराईले बताए । अहिले पुलमा जोखिम बढेको भन्दै १५ टनभन्दा बढी क्षमता भएका सवारीसाधनलाई आवागमनमा रोक लगाइएको छ ।
‘पुल जीर्ण हुँदा गण्डकी प्रदेशका विभिन्न जिल्लाका व्यापारीले नोक्सानी व्यहोर्नुपरेको छ,’ उनले भने, ‘राम्दीको पुल स्याङ्जाको लाइफ लाइन पनि भएकाले लामो समयको पहलपछि पुल बन्ने भएपछि आशा जगाएको छ ।’