
प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफू भ्रष्टाचारविरोधी लडाइँमा सतिसालझैं उभिने बताएका छन् ।
बुधवार दिउँसो कीर्तिपुरस्थित अखिल क्रान्तिकारी स्ववियु काउन्सिलको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारको संकल्पबाट भ्रष्टहरू तर्सिएको बताए । 'सरकारको नेतृत्व लिएदेखि नै देश र जनताको पक्षमा दृढतापूर्वक काम गर्ने अठोट गरिरहेको छु। भ्रष्टहरूमाथि कारवाही शुरू भएको छ । ललिता निवासको फाइल फेरि खोलिएको छ,' उनले भने, 'यो प्रकिया रोकिन्न, हेर्दै जानुहोला- थप फाइलहरू खोलिन्छ र कारवाही गरिन्छ।'
टुटफुट र विभाजनले आन्दोलन कमजोर भएको भन्दै माओवादी शक्तिहरूबीच एकताको राम्रो आधार बनेको उनले बताए । '२०६४ को निर्वाचनमा हामीले राम्रो परिणाम ल्यायौं। तर, पार्टी एकतावद्ध हुन सकेन, टुटफुट र विभाजनले आन्दोलन कमजोर भयो,' उनले भने, 'फेरि एउटा नयाँ परिस्थिति बनेको छ। माओवादी शक्तिहरूबीच एकताको राम्रो आधार बन्दैछ। पार्टी एकता संयोजन समिति बनाइन्छ र बृहत एकतासहित अगाडि बढिन्छ। घेरा हाल्ने, भ्रम छर्ने प्रतिक्रियावादी षड्यन्त्र अहिले पनि जारी छ । २०८४ को निर्वाचनमा २०६४ भन्दा शक्तिशाली हुनेगरी परिणाम दिनुपर्छ,दिन्छौं।'