०१ असार २०८३, सोमबार

उज्यालो अभियानअन्तर्गत १ वर्षमा १९ सय जनाको आँखाको निःशुल्क शल्यक्रिया

साउन ५, २०८०
दाङ
उज्यालो अभियानअन्तर्गत १ वर्षमा १९ सय जनाको आँखाको निःशुल्क शल्यक्रिया

उज्यालो अभियान कार्यक्रमअन्तर्गत करीब १९ सय  जनाले नयाँ दृष्टि पाएका छन् ।

नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जले विभिन्न स्थानीय सरकारहरूसँग आर्थिक वर्ष २०७९/८० मा सञ्चालन गरेको ‘उज्यालो साझेदारी’ कार्यक्रमअन्तर्गत १ हजार ८९९ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरी उज्यालो प्रदान गरिएको हो । 

नागरिकहरूले मोतियाविन्दुका कारण दृष्टिविहीन जीवनयापन गर्नु नपरोस् र नेपाल सरकारको आँखा स्वास्थ्य रणनीतिलाई समेत सहयोग पुर्‍याउने उद्देश्यले स्थानीय तहरूसँग निःशुल्क मोतिविन्दुको शल्यक्रियाका लागि सम्झौता गरी गत आर्थिक वर्षमा उज्यालो अभियान सञ्चालन गरिएको प्रमुख प्रशासक सम्शेर थापाले बताए । 

कार्यक्रमअन्र्तगत १ वर्षमा १ हजार ८९९ जनालाई उज्यालो प्रदान गरिएको समेत बताए । पैसा र पहुँचको अभावका कारण कोही कसैले पनि अनाहकमै आँखाको ज्योति गुमाउनु नपरोस् भन्ने मुख्य उद्देश्यका साथ उज्यालो कार्यक्रम सञ्चालन गरिएको उनको भनाई छ । 

उज्यालो अभियानअन्तर्गत राप्ती आँखा अस्पतालले दाङको तुलसीपुर उपमहानगरपालिकामा २५९ जना, घोराही उपमहानगरपालिकामा १८७ जना, शान्तिनगर गाउँपालिकामा ८९ जना, बबई गाउँपालिकामा ४९ जना र दंगिशरणमा १०० जनाको मोतियाविन्दुका बिरामीहरूको शल्यक्रिया गरी उज्यालो प्रदान गरिएको बाह्य कार्यक्रम संयोजक शालिकराम गौतमले जानकारी दिए । 

सबैभन्दा बढी देउखुरीमा रहेको लमही आँखा अस्पतालले लमही नगरपालिका भित्रका ४०७ जना, गढवा गाउँपालिकामा ३१० जना, राजपुर गाउँपालिका–३ मा ५ जना र लमही नगरपालिका–६ मा ९ जनाको गरी ७३२ जनाले चालू आर्थिक वर्षमा मोतियाविन्दुको शल्यक्रिया गरी उज्यालो प्रदान गरेको नेत्र सहायक विमल घिमिरेले जानकारी दिए । 

लमही आँखा अस्पतालले प्युठानको सरुमाई रानी गाउँपालिकामा समेत साझेदारीमार्फत उज्यालो अभियान पुर्‍याई ४९ जना मोतियाविन्दुका बिरामीको शल्यक्रिया गरी उज्यालो प्रदान गरेको छ । 

छन्द कालेबाबु नारायणी आँखा अस्पताल बहादुरगञ्जले कृष्णनगर नगरपालिकाका वडा नम्बर ३–१२ वडासम्ममा २५५ जना बिरामीको शल्यक्रिया गरी उज्यालो प्रदान गरेको बाह्य कार्यक्रम सहसंयोजक हरी भण्डारीले जानकारी दिए ।

कपिलस्तु जिल्लाको बुद्धभुमि नगरपालिकामा १०० जना र शिवराज नगरपालिकामा ८० जना मोतियाविन्दुका बिरामीहरूको आँखा शल्यक्रिया गरिएको प्रशासकिय अधिकृत जसराज विश्वकर्माको भनाई छ । अभियानले दृष्टिविहीनताको न्युनीकरण हुनुका साथै उज्यालो अभियानले आर्थिक अभाव तथा अन्य कारणले घरमा नै दृष्टिविहीन भएर बसेकाहरूलाई सहज भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीले जानकारी दिए ।

‘हामीले हुनेसँग लिने र नहुनेलाई आँखा उपचार सेवा दिने हो, त्यसमा पनि स्थानीय सरकारको पनि आँखा स्वास्थ्य सेवामा साझेदारी गरेर अगाडि बढाऔं भन्ने हाम्रो उद्देश्य हो,’ उनले भने ।

नेपाल नेत्र ज्योति संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल, १५४ आँखा उपचार केन्द्र र ४४ वटा जिल्ला शाखामार्फत गुणस्तरीय आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्