
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणका क्रममा गेरुवा वस्त्र धारणा गरेर मन्दिरमा पूजापाठ गरेको विषय चर्चित बन्यो । यसले प्रधानमन्त्री प्रचण्ड भारतीय संस्थापन भारतीय जनता पार्टी (भाजपा) सँग निकटता बढाउन चाहन्छन् भन्ने सन्देश दियो ।
माओवादीले भाजपासँग निकटता बढाउन खोजेको विषयलाई हालै भएको नेकपा माओवादी केन्द्र प्रतिनिधिमण्डलको भारत भ्रमणले थप पुष्टि गरेको छ ।
भारतीय जनता पार्टीको औपचारिक निमन्त्रणामा भारत भ्रमणमा रहेको प्रतिनिधिमण्डलले सोमवार भाजपा अध्यक्ष जगतप्रकाश (जेपी) नाड्डासँग भेटवार्ता गरेको छ ।
उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा गएको माओवादी केन्द्रको प्रतिनिधिमण्डलले नयाँ दिल्लीस्थित भाजपाको मुख्यालयमा गरेको भेटवार्तामा २ पार्टीबीचको अनुभव आदानप्रदान एवं २ देशबीच रहीआएको सम्बन्धका विविध विषयमा छलफल भएको थियो । भेटवार्ताबारे जानकारी दिँदै उपाध्यक्ष भुसालले २ पार्टीबीचको सम्बन्ध विस्तार एवं २ देशबीचको आपसी हित र चासोका विषयमा छलफल भएको बताइन् ।
भेटवार्ताका क्रममा २ पार्टीका नेताहरूबीच गहिरो अन्तर्क्रिया भएको भाजपाका उपाध्यक्ष विजयान्त पाण्डाले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । प्रतिनिधिमण्डलले सोमवारै भाजपाको महिला मोर्चा, युवा मोर्चा लगायत जनवर्गीय संगठनसँग पनि अन्तर्क्रिया गरेको थियो ।
सो क्रममा राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (एनडीए) सरकारले विगत ९ वर्षमा सफल रूपमा कार्यान्वयन गरेको नीति तथा योजनाका बारेमा छलफल भएका थियो । भेटमा भाजपाका नेताहरूले पार्टीको संस्थागत संरचना र निर्णय प्रक्रियाका बारेमा अनुभव आदानप्रदान गरेका थिए ।
भेटमा भाजपाका विदेश मामिला प्रमुखलगायत नेताको सहभागिता थियो ।
माओवादी केन्द्रका नेताले भाजपाको मुख्यालयको भ्रमण गरेका थिए । सो अवसरमा भाजपाको ऐतिहासिक यात्रासम्बन्धी वृत्तचित्र प्रदर्शन गरिएको थियो । ‘भाजपालाई चिनौं’ अभियानअन्तर्गत माओवादी केन्द्रका उपाध्यक्ष भुसालको नेतृत्वमा ५ सदस्यीय टोली आइतवार भारत प्रस्थान गरेको थियो ।
टोलीमा माओवादी केन्द्रका सचिव चक्रपाणि खनाल, स्थायी समिति सदस्य सत्या पहाडी, केन्द्रीय सदस्य रामेश्वर यादव र सुरेशकुमार राई सहभागी छन् ।