लघुवित्त वित्तीय संस्थाविरुद्ध प्रदर्शन गर्दै आएका ऋणीहरूले सरकारको ध्यानाकर्षण गराउन विरोधका कार्यक्रम चर्काएका छन् ।
लामो समयदेखि माइतीघर मण्डलामा धर्ना दिइरहेका उनीहरू आज संसद् भवन घेर्ने भन्दै बानेश्वर पुगेका थिए । प्रदर्शनकारीहरू संसद् भवनतर्फ अघि बढ्न खोजेपछि प्रहरीले एभरेस्ट होटेल अगाडि रोक्दा केहीबेर धकेलाधकेलसमेत भएको थियो ।
लघुवित्त संस्थाले महँगो सेवा शुल्क र चर्को ब्याज असुल्ने गरेको, ऋण लिएको रकम तिरिसक्दा पनि थप असुल्ने गरेकोलगायतका समस्या उनीहरूले बताउँदै आएका छन् ।
त्यस्तै, कर्जा असुली गर्दा मानसिक तनाव दिने गरेको, समूहगत जमानीमा ऋण प्रवाह गर्दै आएका लघुवित्त संस्थाहरूले जमानीकर्तालाई समेत दुःख दिने गरेको पनि पीडितको आरोप छ ।
यसरी, लघुवित्त संस्थाबाट पीडित भएको भन्दै ऋणीहरू पछिल्लो एक वर्षभन्दा बढी समयदेखि विभिन्न चरणमा विरोधका कार्यक्रम गरिरहेका छन् । समस्यामा परेका ऋणीबारे सङ्घीय संसद्मा समेत पटक-पटक कुरा उठ्ने गरेको छ ।