३० असार २०८३, मंगलबार

थोरै क्षेत्रफलमा धेरै बाघ

साउन १३, २०८०
काठमाडौं
थोरै क्षेत्रफलमा धेरै बाघ

महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा थोरै क्षेत्रफलमा ३६ बाघ पाटेबाघ छन् । विश्वकै दुर्लभ मानिने बाह्रसिङ्गाको झुण्ड देख्न पाइने शुक्लाफाँटा पाटेबाघका लागि प्रख्यात हुन थालेको छ । 

तीन सय पाँच वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जमा बाघका लागि पर्याप्त आहारा, गुणस्तरीय बासस्थानलगायतको उचित व्यवस्था हुँदा बाघको संख्या बढ्दै गएको निकुञ्ज कार्यालयले जनाएको छ ।
    
निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले तराईका अन्य राष्ट्रिय निकुञ्जमा भन्दा शुक्लाफाँटामा धेरै बाघ रहेको बताए । 'यहाँ बाघका लागि खाना र बासस्थानको राम्रो व्यवस्था गरिएको छ,' उनले भने, 'आहाराका प्रजाति धेरै भएकाले पनि यहाँ बाघको सङ्ख्या बढेको हो ।' 

शुक्लाफाँटाभित्र रहेका ठूलो घाँसेमैदान, तालतलैया र प्रशस्त आहाराका लागि प्रजाति बढेसँगै बाघको सङ्ख्या पनि बढेको ऐरले बताए । उनका अनुसार निकुञ्जमा बाघको प्रमुख आहाराका रुपमा बाह्रसिङ्गा, रतुवा, चित्तल र बँदेल छन् ।
    
'निकुञ्जभित्र प्राकृतिक ताल र तीन वटा ठूला नदीहरू छन्,' ऐरले भने, 'यसबाहेक निकुञ्ज कार्यालयले १४ कृत्रिम तालसमेत बनाएको छ । वन्यजन्तुलाई प्यास मेटाउन पानीको अभाव छैन ।' उनका अनुसार निकुञ्ज क्षेत्रमा चौधर, स्याली र महाकाली नदी छन् । चौधर नदी यहाँका वन्यजन्तुका लागि प्यास मेटाउने प्रमुख पानीको स्रोत रहेको निकुञ्जले जनाएको छ । 
    
पछिल्ला केही वर्षयता शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चोरीसिकार नियन्त्रण भई आहारा प्रजातिको उपलब्धता भएकाले बाघको सङ्ख्या चार वर्षमा दोब्बर पुगेको राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा संरक्षण कार्यक्रम प्रमुख लक्ष्मीराज जोशीले जानकारी दिए । 'पछिल्लो समय चोरीसिकार नियन्त्रण र आहारा प्रजाति निकै राम्रो भएकाले अहिले बाघ दोब्बरले वृद्धि भएको हो,' उनले भने । 
    
जोशीका अनुसार निकुञ्ज प्रशासन, नेपाली सेना र मध्यवर्ती क्षेत्रका उपभोक्ता समिति निकुञ्ज संरक्षणमा लागेका छन् । निकुञ्जमा सन् २०१३ को गणनाअनुसार १७ बाघ रहेकामा सन् २०२२ को गणनामा यो सङ्ख्या बढेर ३६ पुगेको हो । निकुञ्जको वरिपरि मानव बस्ती भए पनि बाघ र मानवबीच द्वन्द्व नरहेको निकुञ्ज कार्यालयले जनाएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सन् २००८ देखि स्वचालित क्यामरा प्रविधिबाट बाघ गणना तथा अनुगमन भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्