
काठमाडौं, ३० भदौ- ‘नेपाली महिला संघर्ष र सफलता’ नामक वृत्तचित्र सार्वजनिक गरिएको छ । शुक्रबार राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा सञ्चारकर्मी मञ्जू कार्कीले निर्माण गरेको सो बृत्तचित्र सार्वजनिक गरिएको हो । नेपाली महिलाको संघर्ष र सफलतालाई मुख्य रुपमा उल्लेख गरिएको वृत्तचित्रमा महिलाहरुले विश्वव्यापी रुपमा गरेका संघर्षलाई समेत समेटिएको छ ।
वृत्तचित्र हेरेपछि प्रतिक्रिया दिँदै राष्ट्रपति भण्डारीले नेपाली महिलाहरुले आजका दिनमा प्राप्त गरेको सफलतका लागि लामो संघर्ष गरेको बताउनुभयो । राष्ट्रपति भण्डारीले महिलाहरुको संघर्ष र सफलताका तथ्यहरु दृश्यसहित संग्रहित गरेर बृतचित्र बन्नु उल्लेखनिय भएको बताइन् । उनले संसदको सदस्य भएर कानुन निर्माणका क्रममा आफूले व्यहोरोको अनुभव बताउँदै नयाँ संविधानले नेपाली महिलाहरुको हक र अधिकार सुरक्षित गरेको भन्दै त्यसलाई कार्यान्वयन गराउन सबैको सहयोग आवश्यक हुनेमा जोड दिइन् ।
कार्यक्रममा सभामुख ओनसरी घर्तीले नेपाली महिलाहरुले संविधान मार्फत प्राप्त गरेको अधिकारलाई व्यवहारमा लागू गराउन सबैको सहयोग आवश्यक हुने बताइन् । समानता र सहभागितामा महिलाहरुको अवस्थामा सुधार आएको भन्दै खुशी व्यक्त गर्दै सभामुख घर्तीले भनिन्, ‘हिजोका दिनमा पानी नचल्ने दलित महिलाहरु आज जनप्रतिनिधि हुनुभएको छ । उहाँहरु समाज र देशका लागि केही गर्ने सोचका साथ आफ्नो क्षेत्रमा क्रियाशिल हुनुहुन्छ । यसले पनि नेपाली महिलाको संघर्षलाई सफलताको थप शिखरमा पु¥याउन खोजेको स्पष्ट हुन्छ ।’
कार्यक्रममा निवर्तमान प्रधानन्यायाधीश सुशीला कार्कीले बृत्तचित्रमा धेरै राम्रो कुरा समेटिएको भन्दै इतिहासको रुपमा राज्यले रेकर्ड गर्नुपर्ने बताइन् ।
अधिकारको लडाइँमै रहेका नेपाली महिलाहरुले वर्ष २०७२ मा राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुख प्राप्त गरेको ऐतिहासिक घटनालाई आधारमानी तयार भएको बृत्तचित्रले सम्पूर्ण महिलाको इतिहासलाई उजागर गरेको छ ।