
काठमाडौं महानगरपालिकाले कपन खोलामाथि राखिएको स्ल्याब हटाउन खोजेपछि विवाद उत्पन्न भएको छ । महानगरको वडा नम्बर ६ र ७ स्थित खोलामा राखिएको स्ल्याब हटाउन खोजेपछि स्थानीय र महानगर प्रहरीबीच विवाद भएको हो ।
महानगरसँग सीमा जोडिएको बूढानीलकण्ठ र गोकर्णेश्वर नगरपालिकाका स्थानीयले विरोध जनाएपछि केहीबेर तनाब उत्पन्न भएको थियो । महानगर र स्थानीयबीच तनाब उत्पन्न भएपछि नेपाल प्रहरीले स्ल्याब हटाउनबाट रोकेको छ । प्रहरीले महानगरको डोजरको चाबी खोसेको हो ।

स्थानीयको आक्रोशबीच महानगरले स्ल्याब हटाउन बल गरेपछि स्थिति थप तनाबग्रस्त हुन नदिन डोजरको चाबी खोसिएको प्रहरीले जनाएको छ ।
प्रहरीले डोजरको चाबी खोसेपछि समर्थन र विरोधमा नाराबाजी भइरहेको छ । महानगरका केही स्थानीयले संघीय सरकारविरुद्ध नाराबाजी गरेका छन् । बूढानीलकण्ठ र गोकर्णेश्वरका स्थानीयले भने महानगरविरुद्ध नाराबाजी गरेका हुन् ।
खोला माथिको स्ल्याब हटाउन डोजरसहित नगरप्रहरीको टोली पुगेको थियो । डोजरले स्ल्याब हटाउन थालेपछि विवाद भएको थियो ।

कपन खोला काठमाडौं महानगरको वडा नम्बर ६ र ७, बूढानीलकण्ठको वडा नम्बर १०, ११ र १२ र गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर ९ को सीमा क्षेत्रमा पर्छ ।

अहिले विवाद समाधानका लागि काठमाडौं महानगर, बूढानीलकण्ठ नगरपालिका र गोकर्णेश्वरबीच त्रीपक्षीय छलफल भइरहेको छ ।
केही दिनअघि महानगरले सामाखुसी खोला खुला गरेको थियो ।