
स्कुल र क्याम्पस सञ्चालनको विषयले उग्ररुप लिँदा नवलपरासीको प्रतापपुर गाउँपालिकामा झडप भएको छ । गाउँपालिका घेर्न पुगेका विद्यार्थी र प्रहरीबीच बिहीवार झडप भएको हो । झडपमा प्रहरीले ५ राउन्ड अश्रु ग्यास प्रहार गरेको छ ।
प्रतापपुरको त्रिभुवन मावि र त्रिभुवन क्याम्पसबीच कक्षा कोठा उपलब्धका विषयमा विवाद हुँदै आएको छ । विद्यालय प्रशासनले कक्षा कोठा अपुग भएको भन्दै दिउँसो सञ्चालन हुने कक्षा ११ र १२ को पढाइका लागि कक्षाकोठा उपलब्ध गराउन क्याम्पस प्रशासनसँग माग गर्दै आएको छ ।
तर क्याम्पस प्रशासनले भने क्याम्पस क्यूएए प्राप्त गर्ने प्रक्रियामा रहेकाले त्रिभुवन विश्वविद्यालयको मापदण्डअनुसार कक्षाकोठा उपलब्ध गराउन नसकिने जनाउँदै आएको छ ।
कक्षाकोठा उपलब्ध नगराएको भन्दै प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवको निर्देशनमा नगर प्रहरीसहितका केही जनप्रतिनिधि पुगेर बुधवार क्याम्पस मुल गेटको ताला फोडेको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष अमूल पाण्डेले बताए । ताला फोडेपछि आक्रोशित विद्यार्थीहरू बिहीवार गाउँपालिका घेराउ गर्न पुगेका थिए ।
सोही क्रममा प्रहरी र विद्यार्थीबीच भएको विवाद झडपमा परिणत भएको थियो । ६७८ विद्यार्थी अध्ययनरत क्याम्पसमा २० वटा कोठा रहेको अध्यक्ष पाण्डेले बताए । उक्त क्याम्पस भारतीय दूतावासको सहयोगमा निर्माण भएको हो । दुई छुट्टाछुट्टै भवन रहेको विद्यालय र क्याम्पस एउटै परिसरमा सञ्चालनमा छ ।
क्याम्पस निर्माण भएको जग्गा विद्यालयको रहेको र पालिका मातहत रहेकाले कक्षा कोठा उपलब्ध गराउन क्याम्पस प्रशासनसँग माग गरेको गाउँपालिका अध्यक्ष यादवले बताए ।
‘भारतीय दूतावासले भवन हस्तान्तरण गर्दासमेत विद्यालयलाई गरेको छ । केही दिनका लागि कक्षा ११ र १२ को पढाइ सञ्चालनका लागि माग्दा नदिएकाले पढाइ सुचारु गर्न ताला फोडेको हो ।’ अध्यक्ष यादवले भने । विद्यालयको १२ कोठे नव निर्मित भवन तयार हुन केही दिन लाग्ने भएकाले सो समयसम्मका लागि ८ वटा कोठा माग गरिएको उनले बताए । राजनीतिक पूर्वाग्राहीका कारण विद्यार्थी उचालेर गाउँपालिका घेर्न पठाएको अध्यक्ष यादवको आरोप छ ।
गाउँपालिकामा ताला लगाउन पुगेका विद्यार्थीलाई रोक्दा ढुंगा प्रहार हुन थालेपछि स्थिति नियन्त्रण लिन ५ राउन्ड हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी भोजराज पाण्डेले बताए ।
झडपका क्रममा ५ जना प्रहरी सामान्य घाइते भएका छन् । यस्तै ३/४ जना विद्यार्थी पनि घाइते भएको पाण्डले बताए ।
झडपमा गाउँपालिका अगाडि रहेको एक निजी कारमा सामान्य क्षति पुगे पनि अरू क्षति नभएको प्रहरीले जनाएको छ ।