
पछिल्लो तीन घण्टामा बर्दियाका विभिन्न ठाउँमा भारी वर्षा भएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार बर्दियाको रम्भापुर र रानी वर्षामापन केन्द्र आसपासको क्षेत्रमा भारी वर्षा मापन भएको हो ।
सो क्षेत्रमा थप वर्षा हुनसक्ने महाशाखाले जनाएको छ । यी क्षेत्र भई बहने स-साना खोलाहरूमा आकस्मिक बाढी आउन सक्ने भएकोले तटीय क्षेत्रमा दिउँसोसम्मै सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
यस्तै, पछिल्लो तीन घण्टामा मकवानपुरका विभिन्न ठाउँमा समेत भारी वर्षा भएको छ । महाशाखाका अनुसार मकवानपुरको गढी र हेटौँडा वर्षा मापन केन्द्रमा भारी वर्षा मापन भएको हो ।
सो क्षेत्र भई बहने कर्रा, सम्री खोला र अन्य स-साना खोलामा आकस्मिक बाढी आउन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । यी क्षेत्रका नदी र खोलाको तटीय क्षेत्र तथा डुबान भइरहने होचा भू-भागमा दिउँसोसम्म सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।