
नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले भदौ २६ देखि ३१ गतेसम्म ‘नाडा अटो सो’ आयोजना गर्ने भएको छ ।
सोमवार नाडाले पत्रकार सम्मेलन गर्दै काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा भदौ २६ देखि ३१ गतेसम्म ‘नाडा अटो सो २०२३’ आयोजना गर्ने जानकारी दिएको हो ।
अटो प्रदर्शनीमा सवारी साधन, पार्ट पुर्जा, वित्तीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघसंस्थाको प्रदर्शनी हुने भएको छ । प्रदर्शनीको १५ औं संस्करणको टाटा मोटर्स जेनुइन आयलले गर्ने भएको छ ।
प्रदर्शनीमा विभिन्न अटोमोबाइल कम्पनीको उत्साहजनक सहभागिताले केही हदसम्म अर्थतन्त्र चलायमान बनाउने नाडाको अपेक्षा रहेको छ । पत्रकार सम्मेलनमा बोल्दै नाडाका अध्यक्ष धु्रव थापाले दुई वर्षको कोरोना महामारी र आयात प्रतिबन्धका कारण हुन नसकेको नाडा अटो सो यो वर्ष गर्न गइरहेको बताए । उनले अहिले मुलुकको आर्थिक अवस्थाले नाडा अटो सो गर्ने अनकुल समय नभएको उल्लेख गरे ।
उनले आर्थिक अवस्था नाजुक भएकाले सवारी साधनहरू बेच्नसक्ने अवस्था नभए पनि व्यवसायिक गतिविधि बढाउनको लागि अटो सो गर्न लागिएको बताए । उनले लामो समयदेखि नाडा अटो सो मात्रै नभएर अन्य सोलाई पनि असर परिरहेको गुनासो गरे ।
अध्यक्ष थापाले देशको वर्तमान आर्थिक परिस्थिति र राष्ट्र बैंकले लगाएका विभिन्न प्रतिबन्धका कारण अटो मोबाइल्स व्यवसायी अहिलेको अवस्थामा पुगेको बताए । उनले करिब डेढ वर्षयता भन्सारमा हजारौं गाडी थन्किएर बसेको बताए । उनले नेपालीहरूको पर्व दशैँ–तिहारअगाडि करिब ४० प्रतिशत र ६० प्रतिशत सवारी बिक्री १० महिनामा हुने तथ्याङ्कलाई मध्यनजर गरेर यो वर्ष नाडाले अटो सो गर्न गइरहेको जनाए ।
उनले अटो सोमा बुकिङ कम हुने शंका भए पनि व्यवस्थापन गर्न नसक्ने गरी बुकिङ भएको बताए । उनले काठमाडौं उपत्यकामा व्यवस्थित प्रदर्शनी स्थल नभएको गुनासो गरे । उनले यहाँ अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्थल जरुरी भएको भन्दै भृकुटीमण्डपमा नेपाली तथा आयातित वस्तुहरू प्रदर्शनी गर्न लायक नभएको बताए ।
नाडाले आर्थिक सुस्तताले अटोमोबाइल व्यवसायीमा नकारात्मक प्रभाव पार्नुका साथै सवारीसाधन खरिद कर्ताको वित्तीय योजनामा समेत असर गरेको बताएको छ । यस अवस्थामा नाडा अटो सोले बजार चलायमान बनाउन मद्दत पुग्ने आयोजकको ठहर छ । नेपाली चाडपर्वको पूर्वसन्ध्यामा आयोजना हुन गइरहेको प्रदर्शनीले अटो व्यवसायी, ग्राहक, गाडीप्रेमी र अटोमोबाइलसँग प्रत्यक्ष–अप्रत्यक्ष रुपमा संलग्न सबैलाई उत्साहपूर्वक सहभागी गराउने नाडाले विश्वास लिएको छ ।
प्रदर्शनीमा ठूला तथा साना गरी करिब १२० स्टल र ब्लक रहनेछन् । प्रदर्शनीमा प्रख्यात अन्तर्राष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्टपुर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवाप्रदायकको सहभागिता रहनेछ । प्रदर्शनीमा १६ वटा ब्राण्डका चार पाङ्ग्रे, २२ वटा ब्राण्डका दुई पाङग्रे, ७ वटा ब्राण्डका लाइट कमर्सियल भेहिकल, ९ वटा वित्तीय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याटरी, पार्टपुर्जा एवं ग्यारेज उपकरण कम्पनीको सहभागिता रहने छ ।
एक्स्पोलाई व्यवस्थित बनाउन, प्रदर्शनी स्थलमा भीडभाड कम गर्न एवं आगन्तुकको भ्रमणलाई सहज बनाउन सोमवारदेखि नै खल्ती एपमार्फत अनलाइन टिकट खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ । भदौ २५ सम्मको अग्रिम अनलाइन टिकट खरिदमा खल्तीले २० प्रतिशत क्यास ब्याक अफर दिएको छ । ६ दिन चल्ने नाडा अटो सोको लगभग ७५ हजार आगन्तुकले अवलोकन गर्ने विश्वास आयोजकको छ ।