
नेपाल एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानसँग पराजित बनेको छ । बुधबार मुल्तान रंगशालामा भएको उद्घाटन खेलमा पहिलो पटक एसिया कप खेलेको नेपाली टोली पाकिस्तानसँग २३८ रनले पराजित बनेको हो ।
टस जितेर पाकिस्तानले पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै तीन सय ४२ रन बनाएको थियो । पाकिस्तानका लागि कप्तान बाबर आजम र इफ्तिखार अहमदले शतक प्रहार गरेका थिए ।
तर, ३४३ रनको लक्ष्य पछ्याएको नेपालको सुरुवात नै खराब रह्यो । नेपालले २३.४ ओभरमा अलआउट हुँदै जम्मा १०४ रन बनाउन सक्यो ।
नेपालको ब्याटिङमा सोमपाल कार्मीले २८ र आरिफ शेखले २६ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक समेत छुन सकेनन् ।
नेपालले गत वैशाखमा घरेलु मैदानमा भएको एसिसी प्रिमियर कपको विजेताको हैसियतले एसिया कपमा सहभागिता जनाएको हो ।