
विद्यालय शिक्षालाई स्थानीय तहबाट मुक्त गर्नुपर्नेलगायत माग राखी आन्दोलनरत शिक्षक महासंघले सरकारसँग छलफलका लागि वार्ता टोली बनाउने भएको छ ।
गृहमन्त्रालयमा शुक्रवार बिहान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित मन्त्रीहरूसँगको छलफलपछि महासंघले वार्ता टोली बनाउन लागेको हो ।
महासंघको आन्दोलन परिचालन समितिको बैठक बसेर वार्ता समिति बनाउन लागेको महासचिव लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए । ‘हामी आन्तरिक गृहकार्यमा छौं, अहिलेसम्म सरकारसँग औपचारिक वार्ता भएको छैन । अनौपचारिक कुरा मात्र भएको छ’ सुवेदीले भने ।
वार्ता शुरू हुनअघि शिक्षकहरूले विरोध प्रदर्शनलाई आज पनि जारी राखेका छन् ।
१७ बुँदे मागसहित शिक्षकहरू बुधबारदेखि आन्दोलनमा छन् ।
शिक्षकको आन्दोलनका कारण काठमाडौंको माइतीघर–बानेश्वर क्षेत्रमा शुक्रबार पनि सवारी आवागमन ठप्प भएको छ ।