२५ जेठ २०८३, सोमबार

धार्मिक सद्भावका लागि गृहमन्त्रीले गरे मन्त्रालयमा ‘गम्भीर’ छलफल

छलफलपछि धार्मिक अगुवाहरूद्वारा संयुक्त अपिल जारी
असोज ५, २०८०
काठमाडौं
धार्मिक सद्भावका लागि गृहमन्त्रीले गरे मन्त्रालयमा ‘गम्भीर’ छलफल

पछिल्लो समय देशका केही ठाउँमा धार्मिक सद्भाव खल्बल्याउने छिटपुट प्रवृत्ति देखापरेपछि उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले धार्मिक अगुवाहरूलाई आज गृह मन्त्रालयमा बोलाएर गम्भीर छलफल गरेका छन् । त्यसक्रममा उनले विश्वकै मौलिक धार्मिक सहिष्णुता भएको नेपालमा निहीत उद्देश्यका कतिपयले धार्मिक उद्दण्डता देखाएर परिस्थिति भड्काउन खोजेको हुनसक्ने बताए ।

गृहमन्त्री श्रेष्ठले यसको प्रशासनिक भन्दा पनि समुदायगत समाधान दीर्घकालीन र प्रभावकारी हुने आफ्नो मान्यता रहेको सुनाए । मुलुकको एकता र सार्वभौमिकताका लागि धार्मिक एवम् सामुदायिक एकता अपरिहार्य भएको र अगुवाहरूको त्यस पहलले समुदायमा सचेतता फैलिने विश्वाससमेत उनले व्यक्त गरे ।

उपस्थित हिन्दू, बौद्ध, मुस्लिम र क्रिस्चियन धर्मसँग सम्बन्धित अगुवा संस्थाका प्रमुखहरूले धार्मिक सद्भावका लागि संयुक्त अपिल नै जारी गरेका छन् । गृहमन्त्री श्रेष्ठसँगको छलफललगत्तै उनीहरूले संयुक्त अपिल जारी गरेका हुन् ।

‘नेपाल एक सार्वभौमसत्ता सम्पन्न बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विविधतायुक्त देश भएको व्यहोरा हामी सबैमा अवगतै छ । कुनैपनि धर्म, सम्प्रदाय, जाति, क्षेत्र एवं लिङ्गको आपसी सम्मान अभिवृद्धि गर्नु, आपसी सद्भाव कायम गर्नु, अर्को धर्म सम्प्रदायप्रति घृणा द्वेष फैलिने कुनैपनि कार्य नगर्नु, अर्को धर्म सम्प्रदायको आत्मसम्मानमा चोट पुग्ने कुनैपनि गतिविधि नगर्नु हाम्रो धार्मिक संस्कारको मूल आधार विगतदेखि रही आएको छ,’ अपिलमा भनिएको छ ।

तथापि, विगत केही समययता देशका विभिन्न भागमा धर्म, जाति, सम्प्रदायको आधारमा एक अर्काप्रति घृणा र द्वेष फैलाउने काम भइरहेको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन् ।

‘तथापि, विगत केही दिन यता देशका विभिन्न भागमा धर्म, जाति, सम्प्रदायको आधारमा एक अर्काप्रति घृणा र द्वेष फैलाउने, फरक धर्म, जाति तथा सम्प्रदायलाई चोट पुग्ने गरी गतिविधिहरू गर्ने मात्र नभई कतिपय ठाउँमा उच्छृङ्गल तथा अराजक रुपमा प्रस्तुत भई फरक धर्म सम्प्रदायको आस्था, व्यवहार, संस्कार र प्रचलनमा आघात पुर्याउने गतिविधि देखा परेको सम्बन्धमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ संयुक्त अपिलमा उल्लेख छ ।

नेपालको इतिहास, परम्परा र विगतदेखि नै एक आपसमा मिलिजुली बस्ने सद्धभावपूर्ण समाजलाई विथोल्ने गरी धर्म तथा सम्प्रदायका नाममा हुने गरेका असंवैधानिक तथा गैरकानूनी क्रियाकलापप्रति हाम्रो गम्भीर असहमति रहेको धार्मिक अगुवाहरूले स्पष्ट पारेका छन् ।

यस प्रकारका कुनैपनि असंवैधानिक तथा गैरकानूनी क्रियाकलापमा कोही पनि जान अन्जानमा सहभागी नहुन र धार्मिक, सामाजिक एवं सांस्कृतिक सद्भाव प्रबर्द्धन गर्न क्रियाशील रहन उनीहरूले सबैमा आव्हान गरेका छन् ।

‘नेपालको इतिहास, परम्परा र विगतदेखि नै एक आपसमा मिलिजुली बस्ने सद्धभावपूर्ण समाजलाई विथोल्ने गरी धर्म तथा सम्प्रदायका नाममा हुने गरेका असंवैधानिक तथा गैरकानूनी क्रियाकलापप्रति हाम्रो गम्भीर असहमति रहेको छ,’ उनीहरूले भनेका छन्, ‘यस प्रकारका कुनैपनि असंवैधानिक तथा गैरकानूनी क्रियाकलापमा कोही पनि जान अन्जानमा सहभागी नहुन र धार्मिक, सामाजिक एवं सांस्कृतिक सद्भाव प्रबर्द्धन गर्न क्रियाशील रहन सबैमा आव्हान गर्दछौं।“

अपिल गर्नेमा मा विश्व हिन्दू महासंघ राष्ट्रिय समिति, विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय समिति, नेपाल सनातन धर्म संस्कृति संगठन, हिन्दू जागरण नेपाल, विश्व हिन्दु परिषद् नेपाल, श्रीकृष्ण प्रणामी सेवा समिति, नेपाल बौद्ध महासंघ, नेपाल तामाङ बौद्ध गुम्बा सेवा समाज, नेपाल परम्परागत बौद्ध धर्म संघअखिल र नेपाल भिक्षु महासंघ छन् ।

यस्तै, अपिलमा इस्लामी संघ नेपाल, नेपाल मुस्लिम संघ, नेपाल मुस्लिम इत्तेहाद संगठन, मुस्लिम मुक्ति मोर्चा नेपाल, मर्कजी जमियत अहले हदिस, जमियत उलेमा–ए नेपाल, राष्ट्रिय क्रिस्चियन महासंघ नेपाल, नेपाल क्रिस्चियन सोसाइटी, नेसनल चर्च फेलोसिभ अफ नेपाल राष्ट्रिय नेपाली इसाई मण्डली एकता परिषद्, नेसनल सास्टर काउन्सिल नेपाल, नेपाली इसाई नागरिक संघ र नेपाल वाइबल सोसाइटीका अध्यक्ष, प्रमुख तथा प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्