३१ असार २०८३, बुधबार
एसियाली खेलकुद

नेपालको कीर्तिमानी जीत, विशाल लक्ष्य पछ्याएको मंगोलिया ४१ रनमै 'अलआउट'

असोज १०, २०८०
काठमाडौं
नेपालको कीर्तिमानी जीत, विशाल लक्ष्य पछ्याएको मंगोलिया ४१ रनमै 'अलआउट'

१९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा मङगोलियाविरुद्ध नेपालले कीर्तिमानी जीत हात पारेको छ । नेपालले दिएको ३१५ रनको विशाल लक्ष्य पछ्याएको मंगोलियामा १३.१ ओभरमा ४१ रन मात्रै बनाएर अलआउट भयो । 

नेपालले मंगोलियाविरुद्ध कीर्तिमानी २७३ रनको जीत हात पारेको छ ।

मंगोलियाका दावासुरेनले १० रन बनाउनुबाहेक अरु कसैले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

यसअघि चेक रिपब्लिकले सन् २०१९ मा टर्कीविरुद्ध सर्वाधिक २५७ रनको फराकिलो जीत हात पारेको थियो ।  अब यो रेकर्ड नेपालको नाम आएको छ । 

मंगोलियालाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि सन्दीप लामिछानेले २, करण केसीले २ ,अविनाश बोहराले २ र दिपनेद्र सिंह ऐरी, सोमपाल कामी र कुशल भुर्तेलले एक/एक विकेट लिए । 

यसअघि पहिले ब्याटिङ गरेको नेपाललले निर्धारित २० ओभरमा ३१४ रनको कीर्तिमानी स्कोर खडा गरेको थियो । नेपालका लागि कुशल मल्लले सर्वाधिक १३७ रन बनाए । उनले ५० बलमा ८ चौका र १२ छक्का प्रहार गर्दै १३७ रन बनाएका थिए । 

यस्तै कप्तान रोहित पौडेलले २७ बलमा ६१ रन बनाए । उनले २ चौका र ६ छक्का प्रहार गरे । दिपेन्द्र सिंह ऐरीले मात्रै १० बलमा ५२ रन बनाए । उनले ८ छक्का प्रहार गरे ।

नेपालले आफ्नो समूह चरणको अन्तिम खेल आइतबार माल्दिभ्ससँग खेल्नेछ । 


 

salt training

कमेन्ट गर्नुहोस्