
एमाले बागमती प्रदेशको अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि सार्वजनिक निर्वाचन कार्यतालिका पटक पटक प्रभावित भएको छ । बुधबार नै अध्यक्षमा पाँच जनाको उम्मेदवारी दर्ता भएसँगै बिहीबार बिहानदेखि मतदान हुनुपर्नेमा पटक पटक मतदान समय पर सारिएको छ ।
निर्वाचन समितिका अनुसार सहमतिको प्रयास भइरहेकाले कार्यतालिका अनुसार मतदान हुन नसकेको हो । एमाले नेता शेरबहादुर तामाङले सहमति नभएमा शुक्रबार मतदान हुने बताए ।
अहिलेसम्म अध्यक्षका उम्मदवारमध्ये केशवराज पाण्डे र सानुकुमार श्रेष्ठले उम्मेदवारी फिर्ता लिएका छन् । अब कृष्ण दाहाल र कैलाश ढुंगेलका साथै केशर बुढाथोकीको उम्मेदवारी कायम रहेको एमालेका अर्का नेता रामेश्वर फुयालले जानकारी दिए । केशर पनि उम्मेदवारी फिर्ता लिने क्रममा छन् । सहमति नभएमा दाहाल र ढुंगेलबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
यसैबीच प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीले अध्यक्षका दुई उम्मेदवारबाहेक सदस्य पदमा परेका आधा उम्मेदवारी पनि फिर्ता भएको बताए । सहमति नभए अब चुनाव हुने उनले बताए । सहमति नभएको खण्डमा शुक्रबार बिहानदेखि विद्युतीय मेसिनबाट मतदान गर्ने तयारी छ ।