१० साउन २०८३, आइतबार

रिगललाई आममाफी दिएर राष्ट्रपतिले पुरानो घटनाको पीडा फेरि दोहोर्‍याइदिएः मृतकपत्नी भारती

असोज १६, २०८०
काठमाडौं
रिगललाई आममाफी दिएर राष्ट्रपतिले पुरानो घटनाको पीडा फेरि दोहोर्‍याइदिएः मृतकपत्नी भारती

नेपालगञ्जका चेतन मानन्धरको हत्या प्रकरणमा जन्मकैदको सजाय पाएका रिगल भनिने योगराज ढकालको आममाफी यतिबेला सर्वत्र आलोचना भइरहेका बेला मृतककी पत्नीले पनि यसविरुद्ध संघर्ष गर्ने भएकी छिन् । मृतक चेतनकी पत्नी भारती मानन्धरले आममाफीको विरुद्धमा बुधवारदेखि काठमाडौंको माइतीघरमा रिले अनशन शुरू गर्ने घोषणा गरेकी हुन् । 

मंगलवार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै उनले आफूजस्तै आम पीडितको न्यायका लागि आममाफीका विरुद्ध रिले अनशन बस्न लागेको बताइन् । 

ठूला भनिने नेताहरूले नै गुण्डा पालेका कारण पीडकले उन्मुक्ति पाएर पीडित झनै पीडित बन्नुपर्ने आवस्था आएको उनको गुनासो छ । रिगलको पक्षबाट पहिला पनि उक्त घटनालाई दबाउनका लागि धेरै फोन आएको, पैसाको प्रलोभन देखाएको र धाकधम्की दिएको उनको भनाइ छ । चेतनको न्यायका लागि आफू कुनै धाक, धम्की र प्रलोभनमा नपरी निरन्तर लडिरहने उनले प्रतिबद्धता जनाइन् ।  

घटना घटेको आठ वर्ष भइसक्दा पनि अझै उक्त घटनाबाट बाहिर निस्कन नसकेको अवस्थामा आममाफीले झनै पीडा दिएको उनले बताइन् । उक्त घटनादेखि डिप्रेसनको औषधि खाँदै आएकोमा आममाफीले झनै पीडा दिएको उनको भनाइ छ । 

‘घटना भएको आज आठ वर्ष भयो । तर, आजसम्म म त्यसको पीडाबाट बाहिर निस्कन सकिरहेकी छैन । डिप्रेसनको औषधि अझैपनि चलिरहेको छ,’ उनले भनिन्, ‘मनदेखि नै म उहाँलाई निकाल्न सक्दिनँ भने म त्यो घटना कसरी विर्सन सक्छु ?’ 

चेतनको हत्यारा कारागारमा छ भन्दा पनि आफूलाई विगतमा केही राहत महसुस भएको उनको भनाइ छ । राष्ट्रपतिले आममाफी दिएर पुनारो घटनाको पीडा फेरि दोहाेर्याइदिएको उनको आरोप छ ।   

‘जो मान्छेले मेरो जीवन तहसनहस बनायो, त्यो मान्छे कारागारभित्र छ भन्ने थियो । तर, अहिले राष्ट्रपतिले यो पीडा दोहार्याइदिनुभयो । जुन म पहिला पीडामा थिएँ, फेरि दोहोर्याइदिनुभयो । पहिलाको दृश्य मेरो आँखामा झलझली भइरहेको छ,’ उनले भनिन् । 

हत्यारा छुट्नुले देशमा कानून नभएको महसुस भइरहेको उनले बताइन् । केही समय वातावरण शान्त बनाएर पीडकलाई राज्यले फूलमालासहित स्वागत गरेर निकालेको भन्दै उनले आपत्ति जनाइन् । आफूले लामो कानूनी लडाइँबाट रिगललाई कारगार पुर्याएको बताउँदै उनले पीडित परिवारको सहमतिबिना राष्ट्रपतिलाई आममाफी दिने अधिकार हुन नहुने भन्दै आक्रोश पोखिन् । उनले राष्ट्रपतिलाई ‘आममाफी भनेको के हो ? तपाईँलाई त्यो अधिकार कसले दियो ?,’ भन्दै प्रश्नसमेत गरिन् । 

नवौं संविधान दिवसको अवसरमा मन्त्रिपरिषदको रिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगललाई आममाफी दिएका थिए । रिगल उक्त घटना हुँदाका बखत नेपाली कांग्रेसको युवा संगठन तरुण दलमा आबद्ध थिए । 

हत्या अभियोगमा उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । साथै, उक्त घटनामा संलग्न अन्य १० जनालाई संलग्नताको प्रकृति हेरर तीन वर्षदेखि १० वर्षसम्म कैद सजाय तोकिएको थियो । 

रिगलमाथि २०७२ साल असार २८ गते नेपालगञ्जको धम्बोजी चोकमा दिउँसो ३ बजेतिर चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग थियो । 

salt training

कमेन्ट गर्नुहोस्