हेटौंडा, ६ असोज– नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो पार्टी अब निर्णायक तेस्रो शक्ति भएर उदाएको बताएका छन् । प्रदेश नम्बर २ को मतगणना चलिरहँदा माओवादी राम्रो ‘पोजिसन’मा रहेको भन्दै माओवादीलाई अब कसैले हेप्न नसक्ने पनि उनले बताए ।
शुक्रवार विहान मकवानपुरको हेटौंडामा सञ्चारकर्मीसँगको कुराकानीमा प्रचण्डले प्रदेश र प्रतिनिधिसभा निर्वाचनबाट पनि माओवादी निर्णायक शक्तिको रुपमा अगाडि आउने बताए । प्रदेश र संघीय चुनावमा आफ्नो पार्टीले तेस्रो स्थान हासिल गरेपनि कसैले हेप्न नसक्ने हैसियत हुने उनले दावी गरे ।
‘हामीले हुनु पर्ने त एक नम्बर नै हो । तर तुरुन्तै पहिलो हुने स्थिति अहिले छैन,’ उनले भने, ‘प्रदेश र संघीय चुनावमा स्थानीय चुनावको भन्दा माथि जान्छौं र कसैले हेप्न नसक्ने भनौं वा शक्तिशाली तेस्रो हुन्छौं ।’
अध्यक्ष प्रचण्डले आफू अहिले पनि माओवादीबीच एकता कायम गर्दै संगठनलाई बलियो बनाउने अभियानमा सक्रिय रहेको बताए । माओवादी कमजोर हुनुमा आफूहरुकै दोष रहेको प्रचण्डले स्वीकार गरे ।
विभिन्न शक्ति केन्द्रहरुले अहिले पनि माओवादीलाई कमजोर बनाउन अनेक षड्यन्त्र गरिरहेको भन्दै प्रचण्डले पार्टी कमजोर हुनुमा एकतावद्ध हुन नसक्नु र जनतामा नजानु मुख्य कारण भएको बताए ।
सत्तासाझेदार दलका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवाले गरेको सकार विस्तारप्रति असन्तुष्टि समेत जनाए । ठूलो सकारको बनाउनु नराम्रो भएको उनको भनाइ थियो ।