
दुध बेचेर गुजारा चलाउँदै आएका पूर्वका किसानलाई दशैँ नजिकिएसँगै चिन्ता थपिएको छन् । दुध बेचेको पैसा नपाएपछि उनीहरूलाई दशैँ कसरी मनाउने भन्ने चिन्ताले पिरोल्न थालेको हो । किसानले चार महिनादेखि दुध बेचेको पैसा पाएका छैनन् ।
लामो समयदेखि दुध बेचेको पैसा नपाउँदा दशैँ कसरी मनाउने भन्ने चिन्ताले सताउन थालेको इलाम कन्याम चिलिङ सेन्टरका व्यवस्थापक रविन निरौलाले बताए । ‘दुग्ध विकास संस्थानलाई दुध बेचेका सहकारी सदस्य किसानले लामो समयदेखि भुक्तानी पाएका छैनन् । उनीहरूलाई दशैँ कसरी मनाउने भन्ने चिन्ता छ,’ उनले भने ।
दुग्ध विकास संस्थान (डीडीसी)को विराटनगरमा रहेको दुग्ध वितरण आयोजनाले इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र सप्तरी जिल्लाबाट दुध संकलन गर्दै आएको छ । सयौं सहकारी तथा संकलन केन्द्रसँग डीडीसीले असारयता खरिद गरेको दुधको भूक्तानी दिएको छैन । ८ हजार किसानले जेठपछिको भुक्तानी नपाएको बताएका छन् ।
अहिले पनि दुधको भुक्तानी गर्न डीडीसीले कुनै चासो नदिएको किसानको गुनासो छ । दशैँअगाडि नै रकम भुक्तानी गर्न सहकारी र संकलन केन्द्रमा किसानले दैनिक ताकेता गरे पनि डीडीसीले चासो नदिएको उनीहरूको गुनासो छ । विराटनगरस्थित दुग्ध वितरण आयोजनाका प्रमुख परमेश्वर चौधरीले करिब ८ हजार हाराहारी किसानले उत्पादन गरेको दुध खरिद गर्दै आएको बताए ।
डीडीसीले जेठ महिनासम्म किसानसँग खरिद गरेको दुधको भुक्तानी गरेको छ । तर, गत आर्थिक वर्षको असार र चालु आर्थिक वर्षको साउन, भदौ र असोज तेस्रो साता गरी झण्डै चार महिनाको रकम भुक्तानी गरेको छैन ।
भदौ महिनासम्म करिब ११ करोड रुपैयाँ किसानलाई भुक्तानी गर्न बाँकी रहेको आयोजना प्रमुख चौधरीले बताए । ‘हाम्रो आयोजनाको मात्र होइन संस्थानका सबै आयोजनामा यस्तै अनुपातमा बक्यौता छ,’ चौधरीले भने, ‘हामी किसानलाई सकेसम्म दशैँअगाडि नै भुक्तानी दिन पहल गरिरहेका छौं ।’
गत वर्षको पुस महिनासम्म डीडीसीलाई दुध बेच्दै आएको इलामको कन्याम चिलिङ सेन्टर अहिले बन्द भएको छ । डीडीसीले समयमा दुधको भुक्तानी नगरेका कारण चिलिङ सेन्टर बन्द भएको हो ।
सेन्टरले डीडीसीलाई दुध बेच्न छोडे पनि गतवर्ष ५०० लिटरभन्दा बढी दुध उपलब्ध गराउने सम्झौता गरेका सहकारी र सेन्टरहरूलाई दिने भनेको प्रतिलिटर थप ३ रुपैयाँ र कमिशन (पीएस) वापतको करिब ७ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेका छ । चिलिङ सेन्टरले डीडीसीको परिपत्रअनुसार सहकारीलाई रकम उपलब्ध गराए पनि आफूले भुक्तानी पाउन नसकेपछि घाटामा गएर बन्द गर्नुपरेको सेन्टर व्यवस्थापक निरौलाले बताए ।
उनका अनुसार इलामका सहकारीहरूलाई मात्र दुधबाहेक दुधजन्य पदार्थको करिब २ करोड रुपैयाँ डीडीसीले भुक्तानी गर्न बाँकी छ ।
दुधको भुक्तानी अनियमित भएपछि किसानले डीडीसीसँग सम्झौता गरेका सहकारी र संकलन केन्द्रलाई दुध उपलब्ध गराउन छोडेपछि इलाममा सञ्चालित ६ वटा चिलिङ सेन्टर वर्ष बन्द भएका छन् । अहिले तीन वटा सेन्टरले थोरै परिमाणमा दुध किनिरहेका छन् ।
लामो समयदेखि दुधको भुक्तानी नपाएका किसान जसरी पनि दशैँमा पैसा चाहियो भन्दै सहकारीलाई दबाब दिइरहेका छन् । तर, सहकारीहरू एकैपटक लाखौं रुपैयाँ भुक्तानी गर्न सक्ने अवस्थामा छैनन् ।
तेह्रथुमका किसान अर्जुन पोख्रेल भन्छन्, ‘दुध उत्पादन गर्न नियमित लगानी गर्नुपर्छ, गाई, भैंसीलाई दाना, औषधि आदि दिन दैनिक लगानी आवश्यक पर्छ तर, चार/पाँच महिनादेखि दुध बेचेको पैसा नपाएपछि किसानले कसरी थेग्न सक्छ ?’ उनले स्थानीय दुग्ध सहकारीलाई दुध बेच्न छाडेर अन्यत्र नै बेच्न थालेको बताए ।
किसानले डिडीडीसीलाई दुध बेच्न छोडेर निजी डेरीलाई दिन थालेका छन् । निजी डेरीहरूले भदौ १५ गतेसम्मको भुक्तानी दिइसकेका छन् । दशैँअगाडि असोज १५ सम्मको भुक्तानी गर्ने आश्वासन निजी डेरीले दिएका छन् ।
तर, पछिल्लो समय निजी डेरीले पनि घ्यू बिक्री नभएको र बढी भएको दुधबाट पाउडर (धूलो दुध) बनाएर राख्नु पर्दा चालु पुँजी अभाव भएको खबर गाउँमा पठाइरहेका छन् । जसबाट निजी डेरीलाई दुध बेच्दै आएका किसानहरू पनि दशैैँंमा रकम पाउने नपाउने भन्ने संशयमा छन् ।