
विराटनगरमा २५ वर्षीय एक युवतीमाथि सामुहिक बलात्कार भएको छ । ती युवतीलाई ललाइफकाइ गरेर तीन जना मजदुरले सामुहिक बलात्कार गरेको घटना सोमवार सार्वजनिक भएको हो ।
सफारीमा यात्रा गरिरहेकी ती युवतीलाई ललाइफकाइ गरी ट्रक पार्किङ गरेको स्थानमा पुर्याएर सामुहिक बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको मोरङ प्रहरीले जनाएको छ । घटना विराटनगर महानगरपालिका–३ मा आइतवार बिहान भएको हो ।
तीनजना आरोपी ट्रकमा काम गर्ने मजदुर हुन् । उनीहरू ट्रक पार्किङ गरेर खाना खान विराटनगर बसपार्कको होटलमा पुगेका थिए । खाना खाएपछि सीटी सफारी चढेर ट्रक राखेको ठाउँमा उनीहरू फेरि आएका थिए । त्यसपछि बलात्कारको घटना भएको पाइएको छ ।
बलात्कारकै क्रममा युवती चिच्याएपछि स्थानीयले थाहा पाएपछि घटना सार्वजनिक भएको प्रहरीले जनाएको छ ।
‘पार्किङ गरेर राखेका दुईवटा ट्रकको बीचमा रहेको खाली ठाउँमा पुर्याएर युवतीमाथि सामुहिक बलात्कार गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ,’ मोरङ प्रहरी प्रवक्ता डीएसपी रञ्जन दाहालले भने, ‘युवतीले चिच्याएपछि स्थानीयले थाहा पाए, अनि घटना सार्वजनिक भयो ।’
घटनामा संग्लग्न तीनै जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको मिथिला बिहारी नगरपालिका–११ का ४३ वर्षीय टेकबहादुर तामाङ, २० वर्षीय विनोद चौहान र सिन्धुली घर भएका एक १६ वर्षीय बालक छन् ।
प्रहरीका अनुसार तामाङ प्रदेश २–०४–००१ ख ००२१ नम्बरको ट्रकका चालक हुन् भने चौहान सोही ट्रकका सहचालक । १६ वर्षीय बालक अर्काे ट्रकमा काम गर्ने सहचालक हुन् ।
घटनापछि आक्रोशित स्थानीयले ट्रकमा तोडफोडसमेत गरेका छन् । तोडफोडबाट ट्रकको अगाडिको शिशा फुटेको छ ।
पीडितले दिएको किटानी जाहेरीका आधारमा पक्राउ परेकाविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन सोमबार म्याद थप गरेर अनुसन्धानको थप प्रक्रिया अघि बढाइने जानकारी प्रवक्ता दाहालले दिए ।