चीनको हाङझाउमा हालै सम्पन्न चौथो एसियाली पारा खेलकुदमा कास्य पदक विजेता तेक्वान्दो खेलाडी पलेशा गोवद्र्र्धन आज स्वदेश फर्केकी छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङ, नेपाल पाराओलम्पिक कमिटीकी अध्यक्ष राधा घले, नेपाल तेक्वान्दो सङ्घका अध्यक्ष प्रकाशशमशेर राणा, महासचिव दीपराज गुरुङ, खेलाडी, प्रशिक्षक, परिवारजनलगायतले पलेशालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । सोही अवसरमा प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।
पलेशा केही दिनका लागि चीनकै साङ्घाइबाट नेपाल आएकी हुन् । पलेशा साङ्घाइस्थित तोङजी विश्वविद्यालयमा आर्किटेक्चर इन्जिनीयरिङको स्नातक तहमा अध्ययनरत छिन् । पलेशा नोभेम्बर ७ तारिखमा साङ्घाइ फर्किँदै छिन् ।
पलेशा साङ्घाइबाटै एसियाली पारा खेलकुदमा सहभागी हुन हाङझाउ गएकी थिइन् । कात्तिक ७ गते भएको महिला के– ४४ क्याटगोरीको ५७ केजीमुनि क्वाटरफाइनलमा पलेशाले चीनकी लिटिङ याङलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेकी थिइन् । सेमिफाइनलमा काजाकिस्तानकी कमिल्यासँग पराजित भए पनि रिपेचेजमा वाइ पाएपछि पलेशाको कास्य पदक पक्का भएको थियो ।
पलेशाले जितेको पदक पारा एसियाली खेलकुदमै नेपालले जितेको पहिलो पदक हो । नेपालले पहिलो संस्करणदेखि नै एसियाली पारा खेलकुदमा सहभागिता जनाएपनि तेक्वान्दो भने चौथो संस्करणदेखि मात्र समावेश गरिएको हो ।
सदस्य–सचिव घिसिङले पलेशालाई ऐतिहासिक पदक दिलाएकोमा बधाई दिँदै उनीबाट राष्ट्रले अझ धेरै आशा गरेको बताए ।