२५ जेठ २०८३, सोमबार

शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने अवसर

कात्तिक १३, २०८०
काठमाडौं
शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने अवसर

संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गोटरेसको भ्रमणका बेला नेपालको शान्ति प्रक्रिया फेरि एकपटक अन्तर्राष्ट्रिय समुदायमाझ चर्चाको विषय बनेको छ । 

नेपालको शान्ति प्रक्रियाको शुरूआती चरणमा राष्ट्र संघले सहजीकरण गरेको थियो, खासगरी माओवादी लडाकू र हतियार व्यवस्थापन सम्बन्धमा । त्यही साइनोका कारण पनि राष्ट्र संघका महासचिवले यो बेला नेपालको भ्रमण गरे ।

शान्ति सम्झौताको मर्मअनुसार नेपालमा संविधान सभाका दुईवटा चुनाव भए । विद्रोही शक्तिले ४ पटक सरकारको नेतृत्व गर्ने अवसर पायो । 

सरकारको नेतृत्व गर्ने या सहभागिता जनाउने प्रत्येकपटक शान्ति प्रक्रियाका काम टुंगो लगाउने सहमति हुन्छ, तर पनि शान्ति प्रक्रियाको काम अड्किएर बसिरहेको छ । सशस्त्र द्वन्द्वको समयमा हत्या गरिएका र बेपत्ता पारिएका व्यक्तिहरूले अहिलेसम्म पनि न्याय पाउन सकेका छैनन् । 

‘सत्य निरुपण तथा मेलमिलाप’को माध्यमबाट पीडितलाई न्याय र पीडकलाई सजाय दिने शान्ति सम्झौताको मर्म हो । शान्ति सम्झौताअनुसार गठन गरिएका आयोगमा पटक–पटक नेतृत्व परिवर्तन भए पनि सत्य निरुपण र बेपत्ता खोजबिनको काम हुन सकेको छैन । 

शान्ति सम्झौता भएको १७ वर्ष पुग्दा समेत पीडितलाई न्याय दिने मामिलामा चरम ढिलाइ भइरहेको छ । कतिपय पीडित परिवारका सदस्यको न्याय नपाइकन निधन भइसकेको छ । शान्ति प्रक्रियाको काम जति ढिला हुन्छ, त्यति नै बल्झिने छ ।

संयुक्त राष्ट्रसंघका महासचिवले शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्न सहयोग गर्ने बताएका छन् । साथै उनले पीडितले न्याय पाउने, सर्वोच्च अदालतको आदेश र अन्तर्राष्ट्रिय मूल्य मान्यताका आधारमा शान्ति प्रक्रिया टुंग्याउनुपर्ने धारणा राखेका छन् । बाँकी काममा राष्ट्रसंघको शुभेच्छा मात्र लिनु उपयुक्त हुन्छ, फेरि संलग्नताले यो प्रक्रियालाई झञ्झटिलो बनाउने छ । 

अहिलेसम्म विदेशी मञ्चमा नेपालका नेताहरूले शान्ति प्रक्रियालाई उपलब्धि र प्रतिष्ठाको विषयका रूपमा उठाउने गरेका थिए । अब पनि ढिला भयो भने प्रत्युत्पादक हुनेछ । २ दशकसम्म पनि पीडितलाई न्याय दिन नसकेको मुलुकका रूपमा चिनिनु नेपालका लागि बदनामी हुनेछ ।

स्थापित अन्तर्राष्ट्रिय मान्यता, सर्वोच्च अदालतको आदेश र पीडितलाई न्याय दिनेगरी शान्ति प्रक्रियाको कामलाई टुंगोमा पुर्‍याउन दलहरूले विलम्ब नगरुन् । ऐतिहासिक शान्ति सम्झौतामा हस्ताक्षर गरेको भनेर गर्व गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्वमा रहेको समयमा यो अलपत्र कामलाई टुंगो लगाउन सबै प्रयत्न गरुन् ।

भाषण गरेजस्तो यो काम सहज छैन, तर गर्नै पर्नेछ । शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन सके मात्र प्रचण्डको तेस्रो कार्यकाल फलदायी हुनेछ । 

salt training

कमेन्ट गर्नुहोस्