०४ साउन २०८३, सोमबार

महामारी र विपत्तिले सधैँ सताइरहेको जाजरकोट

कात्तिक १८, २०८०
बुटवल
महामारी र विपत्तिले सधैँ सताइरहेको जाजरकोट

भौगोलिक रूपमा विकट र स्वास्थ्य क्षेत्रको पर्याप्त पहुँच नभएको क्षेत्र जाजरकोट र रुकुम पश्चिम कर्णाली प्रदेशका दुर्गम जिल्ला हुन् । यी दुई जिल्लामा गएराति गएको विनाशकारी भूकम्पले विशेषागरी स्थानीय ​तीन पालिकावासीलाई बिचल्ली र बेहाल बनाएको छ ।

 विशेष गरी जाजरकोटको बारेकोट गाउँपालिकालाई केन्द्रबिन्दु बनाएर शुक्रवार राति ११.४७ बजे ६.४ म्याग्निच्यूटको भूकम्प गए पनि मृत्यु र घाइते भने, नलगाड नगरपालिका, पश्चिम रुकुमको आठबिसकोट नगरपालिका र सानोभेरी गाउँपालिमा बढी धनजनको क्षति भयो । शुक्रवार रातिको भूकम्प पश्चिम नेपालमा वि.स. २०७२ सालको महाभूकम्पपछिको  शक्तिशाली हो । 

बारेकोटको रानीडाँडा केन्द्र बनाएको गएको भूकम्पमा परी अहिलेसम्म दुई जिल्लामा गरी १५७ जनाको मृत्यु भएको छ भने, १७० जना घाइते भएका छन् । जाजरकोटमा १०५ जनाको मृत्यु र ८१ जना घाइते भएका छन्, भने, रुकुम पश्चिममा ५२ जनाको मृत्यु र ७८ जना घाइते भएका छन् । जाजरकोटले हरेक ५÷६ वर्षमा महामारी र विपत्ति भोग्दै आएको छ । 

झाडापखाला, हैजादेखि गरिबी, भोकमरी, खडेरीको भोगेका जनताले यो पटक फेरि अर्को विपत् भोग्न बाध्य भएको नलगाड नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष सेते गिरीले बताए । ‘जाजरकोटलाई सधैँ प्राकृतिक विपत्ति आइरह्यो कहिले, खडेरी, कहिले झाडापखाला, कहिले खाद्य संकटदेखि अहिले महाविपत्ति हाम्रै जिल्लामा सोझियो,’ उनले भने, ‘हामीले नगर उपप्रमुख सहित धेरै जनताले गुमायौ,  धेरै गम्भीर घाइते छन् । यहाँको अवस्था बताइसाध्ये छैन । दुःख पनि सधैँ दुखीलाई मात्र आउने रहेछ ।’ द्वन्द्वकालमा पनि जाजरकोटले ठूलो क्षति बेहोरेको थियो । 

जिल्लाका ७ वटा स्थानीय तहमध्ये शुक्रबारको भूकम्पले नलगाड नगरपालिका र बारेकोट गाउँपालिमा सबैभन्दा धेरै असर गरेको छ । बारेकोट गाउँपालिका– वडा नम्बर– १ हजार भन्दा बढी घर बस्नै नमिल्ने गरी भत्किएको स्थानीयवासी तथा पत्रकार वीरबहादुर गिरीले बताए । ‘हाम्रो पालिकामा १ हजार घर भत्किएका छन् । यहाँको अवस्था बेहाल छ । घरको अवस्था हेर्दा धेरै मानिसको मृत्यु हुनेजस्तो देखिन्छ । तर, संयोगवश, मानवीय क्षति चाहिँ भएन,’ गिरीले भने । 

वि.स. २०६६ सालमा तत्कालीन ३० वटा गाविसमा फैलिएको हैजा र झाडापखालाबाट जाजरकोटमा ३०० जनाको मृत्यु भएको थियो । त्यस्तै वि.स. २०७२ मा महामारीको रूपमा फैलिएको स्वाइन फ्लुबाट जिल्लामा २४ जनाले ज्यान गुमाएका थिए । 

नलगाड नगरपालिका जिल्ला सदरमुकाम खलङगाबाट ३९ किलोमिटर उत्तर पूर्वमा पर्छ । पत्रकार गिरीले भने, ‘धेरै घर बस्नै नमिल्ने भएका छन् नभत्किएका घरहरू पनि बस्न नमिल्ने गरी चर्किएका छन् ।’ नलगाडको बढी क्षति भएका वडा नम्बर १, २, ३ र ४ नम्बर वडामा दलित र जनजाति समुदायको बसोबास बढी छ । त्यस क्षेत्रमा घरहरूको बनावट पनि कच्चा प्रकारका छन् । 

माटो ढुंगाले जोडेर बनेका र ढुंगाले नैं छाएर बनाएका घरहरूमा बढी क्षति गर्छ र अर्कोतर्फ समथर भूभाग नभई भिरालो स्थल रहेको गिरीले बताए । जाजरकोट विकासमा पनि धेरै पछाडि छ । घाइतेहरूलाई जिल्ला अस्पताल जाजरकोट, आधारभूत अस्पताल लिम्चा, नलगाड दुल्ली अस्पताल, सम्बन्धित पालिकाको स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । गम्भीर घाइतेलाई प्रदेश अस्पताल सुर्खेत, भेरी अस्पताल, बाँके र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारको लागि पठाइएको छ । 

जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले गम्भीर घाइतेलाई हेलिकप्टरमार्फत नेपालगन्ज पठाइएको बताए । ‘उद्धार, राहत उपचारमा सबै शक्ति लगाएर काम गरेका छौँ’ प्रजिअ सुनारले भने, ‘भौगोलिक रूपमा केही विकट क्षेत्र छ । छिमेकी जिल्लाहरूबाट पनि अन्य प्रदेशहरूबाट पनि जनशक्ति आएका छन् ।’ चार पटक हेलिकप्टर घाइते ३३ जनालाई नेपालगन्ज ल्याएको प्रजिअ सुनारले जानकारी दिए । त्यस क्षेत्रमा स–साना परकम्पका कारण पनि ती घरहरू जोखिममा रहेको उनको भनाइ छ ।  

भेरी अस्पतालका फोकल पर्सन नरेश श्रेष्ठले बाँकेमा आएका घाइतेमध्ये १ जनाको बाटोमै मृत्यु भएको र बाँकी ३३ मध्ये ३१ जना भेरी अस्पताल र १ जना नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको बताए । उनले भने, ‘घाइतेमध्ये २ जना सिरियस छन् । बाँकीको अवस्था सुधारोन्मुख छ ।’ पश्चिम नेपालमा हालैका केही महिनायता भूकम्प गइरहेका छन् । जसअनुसार पछिल्लो समय बझाङ केन्द्रबिन्दु बनाएर गत महिना ५.४ र ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्