
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्पले ठूलो धनजनको क्षति गरेकोमा गहिरो दुःख व्यक्त गर्दै विपत्तिलाई पुनर्निर्माणको महत्वपूर्ण अवसरका रूपमा सदुपयोग गर्नुपर्ने बताउएका छन् ।
जाजरकोट र रुकुम पश्चिममा गएको विनासकारी भूकम्पको क्षति र सरकारले चाल्नुपर्ने कदमबारे छलफल गर्न बोलाइएको विपद् व्यवस्थापन जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १३ औं बैठकमा बोल्दै प्रधानमन्त्रीले विपदपछिको उद्दार, राहत र पुनर्निर्माण प्रभावकारी बनाउनेतर्फ गम्भीर हुन सबैलाई निर्देशित गरेका हुन् ।
'हिजो हामीले खोज, उद्दार र उपचारको काम गर्नुपथ्र्यो, त्यो काम मूलभूत रूपमा पुरा गरेका छौं। अब राहत र पुनस्थापनातर्फ केन्द्रित हुनुपर्छ। जाडोको मौसम छ। त्यसैले न्यानो कपडाको बढी आवश्यक छ,' उनले भने, 'उपचार प्रक्रिया अझ प्रभावकारी बनाउनुपर्दछ ।'
पुनःस्थापना प्रभावकारी बनाउनुपर्ने भन्दै त्यसका लागि आवश्यक पर्ने ऐन, कार्यविधि र संरचना चाहिने उनले बताए । 'भइरहेको ऐन, विधि र संरचनाले पुनर्निर्माणको काम प्रभावकारी देखिएको छैन, विगतको अनुभवको पनि हामीले राम्रो समीक्षा गर्नुपर्छ,' उनले भने, 'पुनस्थापना प्रभावकारी बनाउनुपर्छ। त्यसका लागि आवश्यक पर्ने ऐन, कार्यविधि र संरचना चाहिन्छ। भइरहेको ऐन, विधि र संरचनाले पुनर्निर्माणको काम प्रभावकारी देखिएको छैन, विगतको अनुभवको पनि हामीले राम्रो समीक्षा गर्नुपर्छ। आउने दिनमा थप प्रभावकारी बनाउने गरी हामीले काम गरौं।'
यसपटक राहतमा हुने दुरुपयोग रोक्ने उनले बताए । 'यसपटक एकद्वार प्रणालीबाट जान्छौं । जसलाई जे मन लाग्छ, त्यो गर्न दिइँदैन। राहतमा हुने दुरुपयोग रोक्छौं। केन्द्र, प्रदेश र स्थानीय सरकारमार्फत् मात्र राहत दिने स्थिति बनाउँछौं,' उनले भने, 'कहिलेकाही सरकार निरीह भएको विगतको अनुभव छ, यसपटक त्यसलाई छुट दिँदैनौं। यसपटक आवश्यकताका आधारमा सबै पीडितलाई समान व्यवहार गर्ने नीति लिन्छौं।'