आईसीसी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको छ । गएराति भएको खेलमा २४५ रनको लक्ष्य दक्षिण अफ्रिकाले १५ बल बाँकी रहँदा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो ।
दक्षिण अफ्रिकाका लागि रस्सी भान डेर डुसेन ९५ बलमा ६ चौका र १ छक्कासहित ७६ रनमा अविजित रहे । एन्डिले फेहलुकवायोले ३७ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै ३९ रनमा नटआउट रहे ।
ओपनर क्विन्टन डी ककले ४१ रन बनाए । अर्का ओपनर तथा कप्तान टेम्बा बाभुमाले २३ रन बनाए ।
एडेन मार्क्रमले २५ रनको योगदान दिए भने हेनरिक क्लासनले १० रन बनाए । डेभिड मिलरले राम्रो सुरुआत गर्दै २४ रन बनाए ।
अफगानिस्तानका लागि रसिद खान र मोहम्मद नाबीले समान २ र मुजिब उर रहमानले १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २४४ रन बनाएको थियो ।
यसअघि नै विश्व कपको सेमीफाइनल पुगिसकेको दक्षिण अफ्रिकाले राउण्ड रोबिन चरणमा ९ खेलबाट ७ जितसहित १४ अंक बनाएको छ ।