
बाँकेमा प्रहरीले गोली हानेर ज्यान मार्ने कसुरमा संलग्न एक जनालाई पक्राउ गरेको छ । प्रहरीले चलाएको गोली लागेर बैजनाथ गाउँपालिका घर भएका ३१ वर्षीय आकाश राना घाइते भएका छन् ।
प्रहरीको खोजी सूचीमा रहेका आकाशलाई शुक्रबार बिहान पक्राउ गर्ने क्रममा भागेपछि गोली चलाएर नियन्त्रणमा लिइएको बाँकेका प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहराले लोकान्तरलाई बताए ।
खुकुरी प्रहारमा संलग्नलाई खोज्दै प्रहरी शुक्रबार जानकी गाउँपालिका–४ स्थित खुद्रा खजुरामा पुगेको थियो । प्रहरीलाई देखेपछि आकाश राना भागेका थिए । भागेपछि प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको हो । उनको खुट्टामा गोली लागेको छ ।
उनका अनुसार कात्तिक ३० गते बिहान कोहलपुरस्थित चप्परगौडीमा आकाश रानासहितका युवाहरूले मीनबहादुर विकलाई आक्रमण गरेका थिए । रानाको समूहले खुकुरी प्रहार गर्दा २९ वर्षीय मीनबहादुर गम्भीर घाइते भएका छन् । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
उनीमाथि कात्तिक २८ मा कोहलपुर नगरपालिका–११ मा एकबालिकामाथि जबरजस्ती करणी प्रयास गरेको आरोप छ ।
उनी लागुऔषध मुद्दामा ५ वर्ष जेल बसेर छुटेका व्यक्ति हुन् ।