
कोहलपुरबाट ठूलो परिमाणमा लागुऔषधसहित एक दम्पती पक्राउ परेका छन् ।
लागुऔषध कारोबार गरेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय, कोहलपुरबाट खटिएको प्रहरी टोलीले कोहलपुर ८ पिपिरीबाट ४० वर्षीय रेवन्त राना र उनकी श्रीमती ३३ वर्षीया कविता थापालाई पक्राउ गरेको हो ।
उनीहरूबाट प्रहरीले अफिम र चरेस बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।
प्रहरी नायब उपरीक्षक डाँगीका अनुसार प्रहरीले शनिवार राति पौने ९ बजे उनीहरूको साथबाट बा ५ प ८२१५ नम्बर जिपसहित १२ किलो ७ सय ४ ग्राम चरेस, २ किलो १ सय १६ ग्राम अफिम बरामद गरेको हो ।
रेवन्त यसअघि पनि विस २०७१ चैत १९ गते जिल्ला प्रहरी बर्दियाबाट लागुऔषध कसुरमा पक्राउ परेका थिए ।
तत्कालीन समयमा रेवन्तविरुद्ध बाँके प्रहरीले २०७२ साल असोज २० गते सार्वजनिक अपराधमा मुद्दा दायर समेत गरेको थियो । साथै इलाका प्रहरी कार्यालय, कोहलपुरले २०७३ साल असार ३ गते लागुऔषध मुद्दामा उनलाई पक्राउ गरेको प्रहरीको भनाइ छ ।
पक्राउ परेका दम्पतीविरुद्ध अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
लागुऔषध नियन्त्रण ऐनअनुसार उनीहरूलाई १४ देखि १५ वर्ष वा जन्मकैद र रु पाँच लाखदेखि रु २५ लाखसम्म जरिवाना हुनसक्नेछ ।