
आज हिन्दू नेपालीहरुको महान पर्व विजया दशमी अन्तर्गत टीका मान्यजनबाट ग्रहरण गर्दै मनाइदै छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले टीकाको साइत आज बिहान ११ बजेर ५५ मिनेटपछि रहेको जनाएको छ ।
विजयादशमीका दिन बिहान ८ बजेर १ मिनेटमा देवी विसर्जन गर्ने साइत शुभ रहेको छ । साइतमा टीका लगाउनेका लागि ११ बजेर ५५ मिनेटपछि उत्तम रहेको समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले बताए ।
दशैंको दिन दिनभरि नै टीका लगाउन सकिने उनले बताए ।
‘राज्यको नेतृत्व गर्नेका लागि साइतको आवश्यकता हुन्छ, राष्ट्रको नेतृत्व गर्नेका लागि प्रभु शक्ति, मन्त्र शक्ति र उत्साह शक्ति चाहिन्छ, यी शक्ति प्राप्तिका लागि साइतमा टीका ग्रहण गर्नुपर्छ’ गौतमले भने, ‘सर्वसाधारणका लागि टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गादेवीका प्रसादका रूपमा मान्यजनबाट आशीर्वादसहित टीका लगाउनु शुभ हुन्छ ।’
विजयादशमीकै दिन बिहान ७ बजेर ५५ मिनेटमा पुनः तुलजा भवानीको यात्रा गराउने साइत छ । यात्रापछि स्थिरासनको साइत बिहान ९ बजेर ५ मिनेटमा गरिनेछ ।
विजयादशमीकै दिन खड्गयात्रा समेत हुनेछ । असोज १८ गते बुधबार आश्विन शुक्ल चतुर्दशीका दिन सबै बलि पूर्ति गर्नुपर्छ । असोज १९ गते बिहीबार कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको व्रत बसी पूजा गरेपछि दशैं पर्व समापन हुन्छ ।