२५ जेठ २०८३, सोमबार
धरानमा विमानस्थल बन्ने अनिश्चित

अध्ययन समितिको निष्कर्ष: धरानमा विमानस्थल बनाएर प्रतिफल आउँदैन, विराटनगरलाई स्तरोन्नति गरौं

पुस ४, २०८०
विराटनगर
अध्ययन समितिको निष्कर्ष: धरानमा विमानस्थल बनाएर प्रतिफल आउँदैन, विराटनगरलाई स्तरोन्नति गरौं

 धरानमा नयाँ आन्तरिक विमानस्थल बनाउने/नबनाउने विषयमा अध्ययन गर्न गठित समितिले सुनसरीको धरानमा विमानस्थल निर्माण गर्दा नोक्सान हुने प्रारम्भिक निष्कर्ष निकालेको हो । समितिले धरानमा विमानस्थलको आवश्यकता नरहेको निष्कर्षसहित प्रतिवेदन बुझाउने तयारी गरेको हो । 

गत कात्तिक २३ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन  मन्त्री सुदन किरातीको निर्देशनमा नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक इन्जिनियर नलविक्रम थापाको संयोजकत्वमा प्रबन्धक अनिल बस्नेत र वरिष्ठ अधिकृत विमल खनाल सदस्य रहेको समिति गठन भएको थियो । 

यसअघि कात्तिक २२ गते विमानस्थल निर्माणका लागि आवश्यक पहल र सहजीकरणको माग गर्दै धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले नागरिक उड्डयन मन्त्रालयलाई पत्राचार गरेका थिए । मेयर साम्पाङले सामाजिक सञ्जालमा मन्त्री किरातीको नाम नै उल्लेख गरेर विमानस्थल निर्माण गरिछाड्ने भनी प्रचारबाजी गरेका थिए । 

सानो क्षमताका जहाजको उडान र अवतरण गर्न सक्ने एकतर्फी धावनमार्ग भएको विमानस्थल निर्माण गर्न सकिने भए पनि खर्च उठ्ने सम्भावना नदेखिएको अध्ययन समितिले निष्कर्ष निकालेको छ ।

‘धरानबाट दैनिक दुई वटासम्म फ्लाइट चल्ने सम्भावना छ,’ अध्ययन समितिका एक सदस्यले भने, ‘विराटनगरलाई नै भविष्यमा अन्तर्राष्ट्रिय स्तरमा स्तरोन्नति गर्न सक्दा फाइदा हुने निष्कर्ष समितिले निकालेको छ ।’

विराटनगरमा पनि संरचनाहरू बनिरहेकाले अहिले नै धरानमा विमानस्थल निर्माण गर्दा ठूलो धनराशी खर्च हुने अध्ययन टोलीको निष्कर्ष छ । ‘अहिले धरानमा विमानस्थल बनाउँदा ऋण खोजेर बनाउनु पर्ने हुन्छ । त्यो बनाएर पनि एयरपोर्टको लगानी उठ्दैन । अनि अहिले हतार किन गर्नु भन्ने निष्कर्षमा हामी पुगेका छौं,’ अध्ययन समितिका ती सदस्यले लोकान्तरसँग भने ।

आर्थिक हिसाबले धरानमा विमानस्थल निर्माण गर्नु उपयुक्त नभएको, धरानमा बनाउने भनेको विमानस्थल हवाई नीतिविपरीत भएको र राज्यको अर्बाैँ लगानी गरेर प्रतिफलको अपेक्षा नै गर्न नसकिने निष्कर्षमा समिति पुगेको छ ।

‘हामीले अहिले पुराना डकुमेन्ट खोजेर अध्ययन गरिरहेका छौं अध्ययन समितिका संयोजक थापाले भने, ‘अहिले नै बन्छ/बन्दैन भनेर भन्ने अवस्था छैन । प्रतिवेदन दिएपछि मन्त्रालयले सबै कुरा सार्वजनिक गर्ला ।’ 

कानुनी जटिलता 
धरानमा विमानस्थल बनाउन कानुनीरूपमा नमिल्ने नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरू बताउँछन् । विराटनगर विमानस्थलबाट ३९ किलोमिटर दुरीमा धरान–१७ स्थित डाँडाघोपा रहेको छ । डाँडाघोपामै विमानस्थल बनाउने उपमहानगरको जोडबल छ । तर, धरान र विराटनगरको हवाई दूरी मात्र १६ नटिकल माइल छ ।

हवाई नीति २०६३ मा नयाँ विमानस्थल बनाउँदा निकटस्थ विमानस्थलबाट तराईमा ४० नटिकल माइल (७४ किमी) हुनुपर्ने उल्लेख छ । हिमाली र पहाडी क्षेत्रमा भने २० नटिकल माइल (३७ किमी)को दूरीमा अर्काे विमानस्थल बनाउन सकिने हवाई नीतिमा उल्लेख छ । 

नीतिअनुसार धरानमा नयाँ विमानस्थल बनाउन नसकिने प्राधिकरणका अधिकारीहरू बताउँछन् । २०६० सालमा धरान– १७ को  डाँडाघोपाका २९ स्थानीयको ७ बिगाहा ५ कट्ठा जग्गा विमानस्थल निर्माणका नाममा खरिद गरिएको थियो । जग्गा खरिदपछि यत्तिकै सेलाएको विमानस्थलको विषय २० वर्षपछि पुनः चर्चामा आएको छ ।

यती एयरलाइन्सले विमानस्थल बनाउने नाममा स्थानीय नेता, जग्गा कारोबारी तथा कर्मचारी खटाएर डाँडाघोपाको ७ बिघा ५ कट्ठा जग्गा खरिद गरेको थियो । सोमध्ये ६ बिघा १८ कट्ठा जग्गा ‘यती इन्कर्पाेरेट’ कम्पनीका नाममा पास गरिएको थियो । बाँकी ७ कट्ठा यतीका तत्कालीन प्रमोटर कुन्दनशमशेर जबराका नाममा राखिएको थियो । यती एयरलाइन्सका तत्कालीन अध्यक्ष आङछिरिङ शेर्पाको २०७५ फागुन १५ मा ताप्लेजुङको पाथीभरामा हेलिकोप्टर दुर्घटनामा मृत्यु भयो । प्रमोटर जबराको पनि मृत्यु भइसकेको छ ।

अहिले यती इन्कर्पाेरेट प्रा.लि.को अध्यक्षमा शेर्पाकी श्रीमती चन्दा र प्रबन्ध सञ्चालकमा यती एयरलाइन्सका पूर्वव्यवस्थापक विजयबहादुर श्रेष्ठ छन् । 

श्रेष्ठ अहिले हिमालयन एयरलाइन्ससँग जोडिएका छन् । जग्गा किन्ने बेला यती इन्कर्पाेरेटका प्रतिनिधि भनिएका जग्गा व्यवसायी अशोककुमार अग्रवाल अहिले कम्पनीको सञ्चालक छन् । कुल ७ बिघा ५ कट्ठामध्ये व्यक्तिको नाममा रहेको ७ कट्ठा जग्गामा प्लटिङ सुरु भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्