
जंगली हात्तीले गाउँमा पसेर दुःख दिन थालेपछि मोरङको बेलबारी– ११ मा रहेको लक्ष्मी सामुदायिक वन उपभोक्ता समितिले वन क्षेत्रमा नै केराका बोट लगेर फालेको छ । हात्ती आउने गौँडामा लगेर समितिले घरीसहितका केराको बोट फाल्न थालेको हो ।
कोशी प्रदेशका झापा, मोरङ र सुनसरीसहित ३ जिल्लामा करिब एक महिनादेखि हात्ती आतंक छ । भारतबाट आएका हात्तीले दुःख दिने गरेका छन् । यसले बेलबारीमा पनि सीमा नाघ्दै गइरहेको छ । यसैले आफूहरूले हात्ती आउने ३ गौँडामा लगेर १ ट्याक्टर केराका घरीसहितका बोट फालेको लक्ष्मी सामुदायिक वनका अध्यक्ष सुजय गौतमले बताए । २१ हजार मूल्यमा किनेर लगेर हात्ती पस्ने बाटोको मुखमा फालेको उनले जानकारी दिए ।
‘१ महिनाभन्दा बढी भयो हामीले रातभरी सुत्न पाएका छैनौं,’ गौतमले भने ‘अहिले पनि दैनिक जसो २० वटाभन्दा बढी हात्ती आएर दुःख दिने गरेका छन् ।’ उनका अनुसार स्थानीय बासिन्दाहरू रातभरी आगो बालेर जागराम बस्ने गरेका छन् ।
हात्तीको आक्रमणबाट १ महिनामै झापा, मोरङ र सुनसरी गरी ३ जिल्लामा ५ जनाको ज्यान गइसकेको छ । यी ३ जिल्लामा गत साउनयता ५० भन्दा बढी हात्ती आक्रमणका घटना भएका छन् । हात्तीको आक्रमणबाट झापा, मोरङ, सुनसरीसहित उदयपुर र इलाममा समेत गरी ३७ लाख ८५ हजार २०० मूल्य बराबरको जनधनको क्षति भएको कोशी प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
भारतको आसामबाट झापाको बाहुनडाँगी हुँदै मोरङको जंगल क्षेत्रबाट झण्डै ३७ वटा हात्तीको समूह पसेको विवरण डिभिजन वन कार्यालयको छ । बेलबारी नगरपालिकाले ड्रोनमार्फत हात्ती खेदाउन थालेको छ । हात्ती नियन्त्रणका लागि युवाहरूले रात्रि गस्तीसमेत गर्ने गरेका छन् ।