
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले तमोर कोरिडोर हुँदै फिदिम जाने क्रममा तेह्रथुमको छथर गाउँपालिका र पाँचथरकाे तुम्बेवा गाउँपालिका जोड्ने आक्पाराघाटको पुलको काम छिटो सक्न शहरी विकासमन्त्री सीता गुरुङलाई आग्रह गरेका छन् ।
बिहीवार त्यहाँ पुगेका कोइरालाले पुल निर्माणमा अत्यन्तै ढिलासुस्ती भएको स्थानीयको गुनासो आएपछि तत्कालै मन्त्री गुरुङलाई फोन गरेर यस्तो आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।
उक्त पुल निर्माणमा ढिलासुस्ती भएको गुनासो छथर गाउँपालिका–४ का कांग्रेस वडा सभापति सिद्धिमान लिम्बूलगायत स्थानीयले गरेका थिए ।
गुरुङ गठबन्धन सरकारमा कांग्रेसबाटै मन्त्री भएकी हुन् । उनी तेह्रथुमकै सांसद हुन् ।