
बलात्कार घटनामा दोषी ठहरिएका क्रिकेटर सन्दीप लामिछानेलाई उक्त कसुरमा ७ देखि १० वर्षसम्म कैद सजाय हुन सक्ने काठमाडौं जिल्ला अदालतले जनाएको छ ।
१८ वर्ष पुगेकी वा सोभन्दा बढी उमेरकी महिलाको हकमा यो सजाय हुने कानूनी व्यवस्था रहेको अदालतले जनाएको छ ।
यद्यपि, सजाय निर्धारणका लागि पुस २५ गतेको मिति तोकिएको छ ।
‘निजलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को ३(ङ) बमोजिमको कसुरमा ७ देखि १० वर्षसम्मको सजाय गर्न सक्ने अर्थात १८ वर्ष पुगेको वा सोभन्दा बढी उमेरकी महिलाको हकमा यो सजाय हुने कानूनी व्यवस्था रहेको छ,’ सजायमा भनिएको छ ।
क्रिकेटर लामिछाने शुक्रवार बलात्कार मुद्दामा दोषी ठहर भएका छन् ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले यस्तो आदेश सुनाएको हो ।
लामिछानेले २०७९ भदौ ५ गते गौशालाको एक होटलमा लगेर जबरजस्तीकरणी गरेको भन्दै भदौ २१ गते एक किशोरीले प्रहरी वृत्त गौशालामा किटानी जाहेरी दिएकी थिइन् ।
जाहेरी पर्दा लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न जमैका पुगेका थिए । त्यसपछि असोज २० गते नेपाल फर्किएका सन्दीपलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको थियो ।
शुरूमा काठमाडौं जिल्ला अदालतबाट पुर्पक्षका लागि थुनामा पठाइएका लामिछाने उच्च अदालत पाटनबाट धरौटीमा रिहा भएका थिए ।
उच्च अदालतले विदेश जान रोक लगाएकोमा सर्वोच्च अदालतले क्रिकेट खेल्न अनुमति लिएर विदेश समेत जान सक्ने आदेश गरेको थियो ।
काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको करिब १४ महिनापछि आदेश आएको हो ।