
बलात्कारको कसुरमा दोषी ठहर भए पनि क्रिकेटर सन्दीप लामिछानेले तत्कालै जेल जानु नपर्ने भएको छ । उनले थुनाबाहिरै रहेर पुनरावेदन गर्न पाउने भएका छन् ।
मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३७ को सुविधा उपयोग गर्दै उनले बाहिरै बसेर मुद्दा लड्न पाउने भएका हुन् ।
लामिछाने जबरजस्ती करणीको कसुरमा शुक्रवार काठमाडौं जिल्ला अदालतबाट दोषी ठहर भएका थिए । जाहेरी दिने किशोरीको उमेर वारदातको समयमा १८ वर्ष पुगिसकेका कारण लामिछानेलाई कम्तीमा ७ देखि १० वर्षसम्म कैद कैद सजाय हुने र सो बापत हुनसक्ने कानूनी व्यवस्था छ । यद्यपि, अधिकतम जरिवाना र कैदवापतको रकम पनि उनी धरौटीमा रहेका कारण थुनाबाहिरै रहेर पुनरावेदन गर्न पाउने भएका हुन् ।
सजाय निर्धारणका लागि भने यही पुष २५ गते अर्को पेशी तोकिएको छ ।
अब लामिछानेले यो फैसलाको विरुद्धमा उच्च अदालत, पाटनमा पुनरावेदन गर्न सक्छन् । उनले जेल नजाँदै पुनरावदन गर्न सक्नेछन् । फैसलाको पूर्णपाठ आएपछि सन्दीपले पुनरावेदनको मौका पाउने छन् ।
पूर्णपाठ बुझेको ७० दिनभित्र पुनरावेदन गर्न सक्ने कानूनी प्रावधान छ । २५ गतेको पेशीमा सजाय निर्धारण गरेपछि फैसलाको पूर्णपाठ तयार गरिन्छ । उक्त पूर्णपाठ सन्दीपले बुझेको ७० दिनभित्र उनले पुनरावेदन गर्न सक्छन् ।
पुनरावेदन गरेपछि त्यसको फैसला नआउञ्जेल उनी जेल जानु पर्दैन । उच्च अदालतले उनलाई निर्दोष ठहर गरेमा जिल्लाको फैसला लागू हुनेछैन ।
क्रिकेटर लामिछाने शुक्रवार बलात्कार मुद्दामा दोषी ठहर भएका हुन् ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले यस्तो आदेश सुनाएको हो ।
लामिछानेले २०७९ भदौ ५ गते गौशालाको एक होटलमा लगेर जबरजस्ती करणी गरेको भन्दै भदौ २१ गते एक किशोरीले प्रहरी वृत्त गौशालामा किटानी जाहेरी दिएकी थिइन् ।
जाहेरी पर्दा लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न जमैका पुगेका थिए । त्यसपछि असोज २० गते नेपाल फर्किएका सन्दीपलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको थियो ।
शुरूमा काठमाडौं जिल्ला अदालतबाट पुर्पक्षका लागि थुनामा पठाइएका लामिछाने उच्च अदालत पाटनबाट धरौटीमा रिहा भएका थिए ।
उच्च अदालतले विदेश जान रोक लगाएकोमा सर्वोच्च अदालतले क्रिकेट खेल्न अनुमति लिएर विदेशसमेत जान सक्ने आदेश गरेको थियो ।
काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको करिब १४ महिनापछि आदेश आएको हो ।