०३ असार २०८३, बुधबार

सार्वजनिक क्षेत्रमा बनेका घरटहरामा उपमहानगरले चलायो डोजर​

पुस २२, २०८०
बुटवल
सार्वजनिक क्षेत्रमा बनेका घरटहरामा उपमहानगरले चलायो डोजर​

बुटवल उपमहानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी बनेका संरचनाहरू हटाउन शुरू गरेको छ ।

सरकारी जग्गा मिचेर  बनाइएका ठाउँ खाली गरेर विश्राम स्थल, पार्क र चौतारी निर्माण गर्ने उद्देश्यले सार्वजनिक स्थलमा निर्माण भएका घरटहरा हटाउने अभियान थालिएको हो ।​​​ ​

अभियानअन्तर्गत आइतवार उपमहानगरपालिका वडा नं. ५ हाटबजार लाइनका ३ वटा टहरा र नेपालगन्ज रोडको एउटा टहरा भत्काइएको छ ।

सार्वजनिक स्थलमा निर्माण भएका टहरा हटाउन पटक पटक पत्राचार गरे पनि स्वःस्फूर्त टहरा नहटाएपछि आइतवार इलाका प्रहरी कार्यालय बुटवल, नगर प्रहरी, भूमि शाखा र स्थानीयको सहयोगमा ती टहरा हटाएको वडा नम्बर ५ का अध्यक्ष हरिप्रसाद श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार हाटबजार लाइनमा टहरा हटाएका सडक क्षेत्रबाहेकको क्षेत्रको स्थलमा उजिरसिंह फल्चा, रामापिथेकस पार्क निर्माण गरिनेछ ।

null

यस्तै नेपालगन्ज रोडमा सार्वजनिक स्थल र सडक क्षेत्रमा पर्ने वडा नं. ५ का बाँकी टहराहरू हटाउन उपमहानगरपालिकाले पत्राचार गरिसकेको र केही दिनभित्रै ती टहरा हटाउने तयारी रहेको उनले बताए ।

यस्तै वडा नम्बर ६ र अरू वडामा पनि सार्वजनिक स्थलको संरक्षण गर्दै पार्क र चौतारी निर्माण गर्ने अभियान उपमहानगरले सञ्चालन गरेको छ ।

बुटवललाई उपयुक्त विश्राम स्थलका रुपमा विकास गर्नका लागि पर्यटकीय स्थल, पार्कहरू, चौतारीहरू, सार्वजनिक शौचालय र पिउने पानीको व्यवस्था गर्ने गरी चालू आर्थिक वर्षमा बजेट विनियोजन गरेको नगर प्रमुख खेलराज पाण्डेयले बताए।

उनका अनुसार चालू आर्थिक वर्षमा केही स्थानमा मोडेलका रुपमा केही चौतारीहरू निर्माण गरिनेछ र आगामी आर्थिक वर्षमा बुटवलका सबै जसो वडामा पार्क र चौतारी निर्माण गरिनेछ ।

salt training

कमेन्ट गर्नुहोस्