काठमाडौं १७ असोज– नेकपा एमालेसंग चुनावी तालमेल र पार्टी एकीकरणको प्रस्तावप्रति माओवादी केन्द्रका ४ नेताले असहमति प्रकट गरेका छन् । उनीहरुले एमालेसंग चुनावी तालमेल गर्नु उपयुक्त भएपनि पार्टी एकीकरणको समय आइनसकेको बताएका छन् ।

एमालेसंगको चुनावी तालमेल र पार्टी एकीकरणबारे छलफल गर्न सोमवार बसेको केन्द्रीय सचिवालयको बैठकमा माओवादीका चार नेताले पार्टीको अलग्गै पहिचान बनिसकेको समयमा एमालेसंग पार्टी एकीकरण हतारो हुने बताएका हुन् ।
मात्रिका यादव, गोपाल किराती, प्रभु साह र मणि थापाले एमालेसंग पार्टी एकीकरणवारे फरक मत राखेका हुन् । कतिपय नेताहरुले भने प्रस्तावप्रति मौन विरोध जनाए । किरातीले एकीकरण नभइ एमालेमा बिलय हुन लागेको प्रतिक्रिया जनाएका छन् ।
शहरी विकास मन्त्री समेत रहेका साहले बैठकमा एमालेसंग पार्टी एकीकरणको समय भइनसकेको बताएका थिए । ‘पार्टीको अलग्गै धार बनिसकेको समयमा एमालेसंग तालमेलको कुराले कार्यकर्ता निराश भएका छन’ असन्तुष्ट एक नेताले लोकान्तरसंग भने, ‘यो नेताहरुको बिचलन हो, सत्तास्वार्थको उपज हो ।’
माओवादी स्रोतका अनुसार सोमवारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सातबुँदे प्रस्ताव पेशगर्दै एमालेसंग चुनावी तालमेल र पार्टी एकीकरणको प्रस्ताव गरेका थिए । उनले एक्लै चुनावमा जादा नजिता माओवादीको पक्षमा नहाउने भन्दै तालमेल गरेर अगाडी बढ्नु बाध्यता भएको थिए ।
‘देश दौडाहको क्रममा आफ्नो हैसियत देखेपछि प्रचण्डले नै एमालेसंग एकीकरणको हतारो गरेका हुन्’ माओवादीका एक नेताले भने । माओवादीले चुनावी तालमेल र पार्टी एकीकरणको बिषयमा निर्णय गर्न प्रचण्ड, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई जिम्मा लगाएको छ ।