
प्रदेश संरचनाको विरोध गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कोशी प्रदेशमा सभामुख पद पाउने पक्का भएको छ । प्रतिपक्षी नेकपा एमालेले समेत सघाउने भएपछि राप्रपाका अम्बरबहादुर विष्ट सभामुख बन्ने पक्का पक्का भएको छ ।
सत्ता गठबन्धनले यसअघि नै राप्रपालाई सभामुख दिने सहमति गरिसकेको थियो । सभामुख चयनका लागि आज दिउँसो ३ बजे निर्वाचनको समय तोकिएको छ । सभामुखमा विष्टलाई नै अगाडि सार्ने सहमति गरेपछि एमालेले पनि समर्थन गर्ने निर्णय गरेको हो । विष्ट राप्रपाका समानुपातिक सांसद हुन् ।
२०१० साल मंसिरमा जन्मेका विष्ट अखिलबाट राजनीतिमा उदाएका हुन् । उनले २०२८ सालमा महेन्द्र मोरङ क्याम्पसबाट अखिलको राजनीति सुरु गरेका थिए । उनी अखिलको इकाई उपसभापतिमा पराजित बनेका थिए । अखिलको राजनीतिमा हार व्यहोरेपछि विष्ट पञ्चायती राजनीतिमा लागे ।
उनी साविकको जुरोपारी गाउँपञ्चायतको वडाध्यक्षमा निर्वाचित भएका थिए । २०३३ सालमा वडाध्यक्ष भएका उनी त्यसपछि उपप्रधानपञ्च हुँदै जिल्ला पञ्चायतको सदस्य समेत भए । तत्कालीन अवस्थामा हिंसाको राजनीति मन नपरेर कम्युनिस्ट छोडेको उनी बताउँछन् ।
२०४६ सालको परिवर्तनपछि उनी राप्रपाको राजनीतिमा लागेका थिए । उनी सहकारी विकास बोर्डको सदस्यसचिवसमेत बने । आठ वर्ष राप्रपा झापाको जिल्ला अध्यक्षसमेत भएका थिए । अहिले पार्टीको केन्द्रीय सदस्य छन् ।
वर्तमान व्यवस्थाविरुद्ध रहेको राप्रपाका केन्द्रीय सदस्यसमेत रहेका उनी गणतन्त्र नेपालमा कोशीका सभामुख बन्ने भएका हुन् । प्रदेश संरचना खारेजीको माग राख्दै आएको राप्रपाको काँधमा प्रदेशसभाको सभामुख बन्ने भएका छन् । तर, आफू सभामुख भएपछि संविधानअनुसार काम गर्ने विष्टले बताए ।