११ साउन २०८३, सोमबार

आफ्ना तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गर्नेविरुद्ध गौशाला– २६ ले दिइन् साइबर ब्युरोमा उजुरी

पुस २६, २०८०
काठमाडौं
आफ्ना तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गर्नेविरुद्ध गौशाला– २६ ले दिइन् साइबर ब्युरोमा उजुरी

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कारको उजुरी दिएकी पीडित गौशाला– २६ (परिवर्तित नाम)ले आफ्ना तस्वीर सामाजिक सञ्जालमा हाल्नेविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छिन् ।

उनले बिहीवार आफैँ उपस्थित भएर कारबाहीको माग गर्दै उजुरी दिएको ब्युरोका प्रहरी निरीक्षक (इन्सपेक्टर) राजकुमार खड्गीले लोकान्तरलाई जानकारी दिए ।

बलात्कार मुद्दामा लामिछाने दोषी ठहर भएर ८ वर्ष कैदको फैसला आएसँगै गौशाला २६ का तस्वीर नामसहित सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए । यसो गर्नेहरूविरुद्ध कारबाहीको माग गर्दै पीडित प्रहरीकहाँ पुगेकी हुन् ।

पीडितका तस्वीर र नाम सामाजिक सञ्जालमा राख्नेहरूको खोजी कार्य शुरू भइसकेको इन्सपेक्टर खड्गीले बताए ।

यसैबीच, बिहीवार नै सामाजिक सञ्जाल प्रयोगमा संवेदनशील नरहेको भन्दै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रवासी नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समितिका सदस्य दिवस सापकोटालाई निलम्बन गरेको थियो ।

उनलाई पदीय जिम्मेवारीबाट निलम्बन गरिएको रास्वपाले आफ्नो सामाजिक सञ्जालमा उल्लेख गरेको छ ।

गौशाला-२६ को तस्वीर सामाजिक सञ्जालमा पोस्ट गर्दै अदालती फैसलासँग जोडेर पीडितप्रति कटाक्ष गरेको आरोपमा सापकोटालाई निलम्बन गरिएको रास्वपाले जनाएको छ ।

बलात्कार प्रकरणमा क्रिकेटर लामिछानेलाई दोषी ठहर्याउँदै ८ वर्ष कैद सजायको फैसला काठमाडौं जिल्ला अदालतले गरेको छ । साथै पीडित युवतीलाई आरोपीको तर्फबाट ५ लाख जरिवाना र क्षतिपूर्ति भराउने पनि फैसला अदालतले गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्