२५ जेठ २०८३, सोमबार

युट्युबरलाई पढाउँदै प्रेस काउन्सिल

पुस २६, २०८०
काठमाडौं
युट्युबरलाई पढाउँदै प्रेस काउन्सिल

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले युट्युबमार्फत पत्रकारिता गर्ने हो भने व्यवस्थित हुन र पत्रकार आचारसंहिता पालना गर्न अनिवार्य भएको बताएका छन् । अहिले नेपालको पत्रकारितालाई अगुवाइ गर्न युट्युबमार्फत गरिने मर्यादित पत्रकारिताले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।

बिहीवार काउन्सिलको आयोजनामा सञ्चारग्राममा भएको युट्युब व्यवस्थापनका सन्दर्भमा आचारसंहिता अभिमुखीकरण कार्यक्रममा अध्यक्ष बस्नेतले नेपालको पत्रकारितामा युट्युबको प्रत्यक्ष प्रभाव बढ्दै गएकाले पत्रकारिता गर्ने हो भने युट्युबको सञ्चालन व्यवस्थित गर्न जरुरी भएको बताए । 

‘तपाईंहरू युट्युबबाट नै पत्रकारिता गर्छु भन्ने सोच्नुभएको छ भने त पत्रकारिताका मूल्य मान्यताअनुसार चल्नुस् र पत्रकारिता कर्म गर्नुस् । कसैले तपाईंमाथि प्रश्न उठाउँछ भने हामी साथमा छौँ,’ उनले भने । प्रेस काउन्सिल सबै पत्रकारको अभिभावक संस्था भएकाले युट्युबमार्फत पत्रकारिता गर्नेको पनि अभिभावक भएको प्रस्ट पार्दै उनले युट्युबका समस्या समाधान गर्ने विषयमा काउन्सिलले सधैँ गम्भीरतापूर्वक भूमिका निर्वाह गर्ने गरेको बताए ।

null

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले समाजले नयाँ कुरालाई सहजै स्वीकार्न नसक्ने भन्दै हिजो पत्रपत्रिका, रेडियो र अनलाइनले भोगेको समस्या अहिले युट्युब सञ्चालकले भोगेको बताए । उनले सम्पादन बिनाको सामग्री सञ्चार सामग्री नहुने भन्दै युट्युबरलाई सिकाएर प्रोत्साहन गर्न आवश्यक रहेकोे उल्लेख गरे । युट्युबर सञ्चार क्षेत्रकै सदस्य भएको भन्दै उनले नियमसङ्गत व्यवस्थित सञ्चालन भइ पूर्ण सदस्य बन्न सञ्चालकहरूलाई आग्रह गरे । 

अनलाइन टीभी पत्रकार सङ्घका अध्यक्ष जीवन भण्डारीले प्रविधिलाई कसैले पनि नियन्त्रण गर्न नसकिने भन्दै राज्यले युट्युबरका समस्या समाधान गरेर अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याए । 

काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले युट्युबलाई व्यवस्थापन नगर्दा युट्युब सञ्चालक तथा पत्रकारिता क्षेत्रमा देखिएका समस्या समाधान हुन नसक्ने भएकाले पहिला त्यसतर्फ ध्यान दिन जरुरी भएको उल्लेख गरे ।

काउन्सिलले करिब ५० वटा युट्युब माध्यमका सञ्चालक-प्रतिनिधिहरूलाई तालिमसहितको अभिमुखीमरण कार्यक्रम गरेको हो । जहाँ उनीहरूलाई पत्रकारिताका आचारसंहितालगायत विषय पढाइएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्