
राष्ट्रपति रामचन्द्र पौडेलले स्टार होटलहरूमा ‘फार्म टु प्लेट’को अवधारणा अघि बढाउन आग्रह गरेका छन् ।
होटल संघ नेपालले आफ्नो स्थापना दिवसको अवसरमा मनाउन शुरू गरेको ‘प्रथम सत्कार दिवस २०२४’ मंगलवार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् । नेपालको मौलिक रैथाने खाना र संस्कृतिलाई समेत विश्वमाझ प्रवर्द्धन गर्न आवश्यक रहेको उनको भनाइ थियो ।
'ग्राहकहरूको रूचि र चाहनाअनुसारको खाद्यान्न होटल व्यवसायीहरू आफैंले कृषि फर्म स्थापना गरेर उत्पादन गर्न सक्नुपर्छ', उनले भने, 'पर्यटक र ग्राहकहरूको रूचिअनुसारको खाद्यान्न उत्पादन गर्न प्रेरित गर्दै व्यवसायीले किसानसँग सम्झौता गरेर 'फार्म टु प्लेट'को अवधारणा अघि बढाउनु पर्छ ।'
राष्ट्रपति पौडेलले नेपालको होटल क्षेत्रले ‘अतिथि देवो भवः’ को मूल मर्मलाई जीवन्त राखी विश्वसामु राष्ट्रिय गरिमालाई अभिवृद्धि गर्न सफल हुनु खुसीको विषय भएको बताए ।
‘सेवा, सत्कार र आतिथ्य मुलुकको पहिचानको महत्वपूर्ण पाटो रहेको हुँदा यस क्षेत्रमार्फत राष्ट्रिय समृद्धि हासिल गर्न सम्भव हुने भएकाले होटल व्यवसायीहरूको यसमा विशेष ध्यान जाने मैले अपेक्षा गरेको छु’, उनले भने ।
उहाँले पर्यटन तथा होटलको विस्तारसँगै नेपालका नयाँ गन्तव्यहरूको विकास र समृद्धि भएको बताउँदै मुलुकको पर्यटनलाई सफल तुल्याउन पूर्वाधारका कामहरू भइरहेको र अगाडि बढिरहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो– ‘नेपालको विशिष्टता, प्राकृतिक सौन्दर्य, संस्कृति र सभ्यतालाई विश्व पर्यटन बजारमा प्रवद्र्धन गरी पर्यटन क्षेत्रलाई आयआर्जन र समृद्धिको आधारमो रुपमा स्थापित गर्नुपर्दछ । यस वर्ष दश लाखभन्दा बढी पर्यटक भित्रिसकेको सन्र्दमा आगामी दिन अझ उत्साहजनक हुनेछ भन्ने मलाई आशा छ ।’
नवनिर्मित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालनमा आई मुलुकमा बढीभन्दा बढी विदेशी पर्यटकहरू भित्र्याउन सके समृद्धि छिट्टै हासिल गर्न कठिनाइ नहुने राष्ट्रपति पौडेलले बताए ।
पर्यटन क्षेत्रबाट हुने आय पछिल्लो समय आशातीत ढंगले बढिरहेको भन्दै उनले पर्यटकीय गन्तव्यहरूमा खानेपानी, शौचालय, सरसफाइ, ढल व्यवस्थापन, साइकल लेन, निःशुल्क इन्टरनेत लगायतका आधारभूत सुविधा उपलब्ध गराउँदा यसको प्रभाव थप बढ्ने उल्लेख गरे ।