
काठमाडौं, १८ असोज - वामपन्थी पार्टीहरुको चुनावी तालमेल तथा पार्टी एकता प्रयासप्रति विवेकशील साझा पार्टीले ध्यानआकर्षण भएको जनाएको छ । सानो मुलुक तर धेरै संख्यामा राजनीतिक पार्टीहरु क्रियाशील रहेको पृष्ठभूमीलाई हेर्दा उस्तै राजनीतिक विशेषता बोकेका दलहरुबीचको एकतालाई हामी सकारात्मक रुपमा लिएको साझा विवेकशीलले एक विज्ञप्ति मार्फत जनाएको छ ।
तर नेपाली राजनीतिले संबोधन गर्नैपर्ने सुशासन, विकाश र संवृद्धिका मुद्धाहरुमा यो एकता प्रक्रियाले कस्तो भूमिका निर्वाह गर्न हो भन्ने कुरा अझै स्पस्ट नभएको सो पार्टीले जनाएको छ ।
खासगरी विभिन्न अमिल्दा र कतिपय राजनीतिक मुद्धाहरुमा परस्पर विपरित धारणा समेत राख्दै आएका दलहरु बीचको हठात तालमेल तथा एकता प्रक्रिया मूल्य मान्यता, संस्कार र विधिको राजनीति गर्ने दिशातर्फ होइन, पार्टीलाई शक्तिशाली र सरकार बनाउने दिशातर्फ मात्र लक्षित हो कि भन्ने देखिएको विवेकशीलले जनाएको छ ।
जसले एकातिर, नेपाली राजनीतिमा देखिएको भ्रष्ट्राचारी, अपारदर्शी तथा दोहनकारी चरित्रलाई अझ बलियो बनाउने संभावना छ भने अर्कोतिर, विगतमा दलीय भागवण्डाद्धारा राज्यको दोहन गरिरहेका दलहरुको एकताले भविष्यमा पनि राज्य संचालनको तहमा अल्पतन्त्रलाई अझ वढि संस्थागत गर्ने जोखिम देखिएको पनि साझा विवेकशीलले जनाएको छ ।
आसन्न निर्वाचनको मुखैमा चाहेर वा नचाहेर वर्तमान राजनीतिक ध्रुविकरणले निम्त्याउन सक्ने राजनीतिक अस्थिरताको जोखिमलाई समेत मध्यनजर गरेर सबै राजनितिक दलहरुलाई जिम्मेवार र सतर्क रहन समेत सो पार्टीले आग्रह गरेको छ ।
त्यसैले यो नयाँ परिप्रेक्षमा विवेकशील साझा पार्टीले नेपालमा निष्ठा, आदर्श र सुसंस्कृत राजनीतिको औचित्य र आवश्यकता अझै बढेर गएको मात्र होइन, यसको महत्व र जिम्मेवारी समेत झन् बढ्दै गएको महशुस गरेको विज्ञप्ति मार्फत साझा विवेकशील पार्टीका प्रवक्ता रमेश पौड्यालले जनाएका छन् ।