२५ जेठ २०८३, सोमबार

६ महिनासम्म बिदा नलिएको भन्दै ५ जना प्रहरीलाई स्पष्टीकरण

कोशी प्रहरी प्रवक्ता भन्छन्– पारिवारिक विचलन आउने भएपछि स्पष्टीकरण सोधिएको हो
माघ ४, २०८०
विराटनगर
६ महिनासम्म बिदा नलिएको भन्दै ५ जना प्रहरीलाई स्पष्टीकरण

६ महिनासम्म पनि घरबिदा नलिने  ५ जना प्रहरीलाई स्पष्टीकरण सोधिएको छ । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय खोटाङले स्पष्टीकरण सोधेको हो । 

लामो समयसम्म घर नगएपछि पारिवारिक विचलन आउने देखिएपछि ५ जना प्रहरीलाई स्पष्टीकरण सोधिएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक ऋषिराम कँडेलले स्पष्ट पारेका छन् । 

‘बिदामा जानू भन्दा पनि नगएपछि उनीहरूलाई स्पष्टीकरण सोधिएको रहेछ,’ कँडेलले भने ‘कारबाही गर्ने गरी नभई बिदामा इन्करेज गर्ने गरी सोधिएको हो ।’ परिवारसँग सम्बन्ध सुधार हुने र घरमा गएर आएपछि फ्रेससमेत हुने गरेकाले प्रहरीले त्यो अभियान नै चलाएको उनले बताए । 

घर नगएपछि प्रहरीहरू बरालिन्छन् कि भन्ने चिन्ताले पनि कमान्डरले स्पष्टीकरण सोधेको कँडेलले बताए । 

‘प्रहरीका श्रीमतीहरूले श्रीमान् घर नआउने, वास्ता नगर्ने गरेका गुनासोसहित फोन गर्ने गरेका छन् । बिदामा जाउ भन्दासमेत नगएपछि घरमै समस्या हो कि भनेर समेत स्पष्टीकरण सोधिएको हो,’ खोटाङ प्रहरीका एक अधिकारीले भने ।

जिल्ला प्रहरी कार्यालय, खोटाङका प्रहरी निरीक्षक बेनु कार्कीले यसअघि ५ जना प्रहरीलाई बिदा नलिनुको कारणबारे स्पष्टीकरण सोधेका थिए । प्रहरी सहायक हवलदार सबिन थुक्लुङ लिम्बू, प्रहरी जवानहरू सागर राई, द्वारिका राई, रुपेश तामाङ र अनिल परियारलाई स्पष्टीकरण सोधिएको थियो । ५ मध्ये ४ जनाले विवाह नगरेको पाइएको छ ।  

प्रहरी नियमावली अनुसार प्रहरी कर्मचारीले १ वर्षमा ३० दिन घर बिदा पाउँछन् भने १२ दिन भइपरी बिदा लिन पाइने व्यवस्था छ ।
 

salt training

कमेन्ट गर्नुहोस्