![जब संगीत प्रतिष्ठानमा गुञ्जियो ‘सपना भुलाइ सारा...’ [तस्वीरहरूसहित]](https://lktcdn2.prixacdn.net/media/gogesh_baidhya__5_vTI8aiOIJU.jpg)
अग्रज गायक एवं संगीतकार योगेश वैद्यको बिहीवार राती ७७ वर्षको उमेरमा निधन भयो । ‘सपना भुलाइ सारा...’ लगायतका थुप्रै लोकप्रिय गीतका गायक उनी लामो समयदेखि मिर्गौला र मधुमेहको रोगबाट पीडित थिए ।
गायक वैद्यको पार्थिक शरिरलाई शुक्रवार बिहान नक्सालस्थित संगीत नाट्य तथा प्रज्ञा प्रतिष्ठानमा राखियो, जहाँ पुगेर संगीतकर्मीहरूले उनीप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरे ।
वरिष्ठ संगीतकार शम्भुजीत बाँस्कोटा, संगीतकारहरू चेतन सापकोटा, वसन्त सापकोटा, महेश खड्का लगायतले फूलमाला अर्पण गर्दै गायक वैद्यप्रति श्रद्धाञ्जली व्यक्त गरे । नेपाल संगीतकार संघले वैद्यको चर्चित गीत ‘सपना भुलाइ सारा...’ गाएर उनको अन्तिम विदाइ गर्यो ।
शुक्रवार दिउँसो नै पशुपति आर्यघाटमा वैद्यको अन्तिम संस्कार गरिएको छ ।
वैद्यलाई अन्तिम विदाइ गर्दै गर्दा संगीतकर्मीहरूले नेपाली सांगीतिक क्षेत्रमा उनले पुर्याएको योगदानको समेत स्मरण गरे । संगीतकार सम्भुजीत बाँस्कोटाले वैद्यलाई आफूले अत्यन्तै गहन व्यक्तित्वका रुपमा लिने बताए । नेपाली सुगम संगीतको एउटा संरक्षकको रुपमा समेत वैद्यलाई आफूले लिँदै आएको बाँस्कोटाले बताए ।
उनले भने, ‘सुगम संगीतका लागि उहाँ संरक्षक हुनुहुन्थ्यो । उहाँको समय–समयको अभिव्यक्ति, उहाँले गाएका गीतहरू, उहाँको गीत–संगीत छनोटका कुरा हेर्दा उहाँ अत्यन्तै गहन व्यक्तित्व हुनुहुन्थ्यो ।’
नेपालको संगीत क्षेत्रले उज्वल भविष्य पाओस् भन्ने चाहना वैद्यले सधै राख्ने गरेको बाँस्कोटाले सुनाए । ‘नेपाली गीत–संगीतका स्रष्टा पनि छिमेकी मुलुकका कलाकारजत्तिकै प्रतिस्पर्धामा उत्रिन सिक्नुपर्छ र आफ्नो ज्ञानगुन, आवाजको मौलिकता, गीतसंगीतले विश्वभर फैलाउन सकुन् भन्ने भावना राख्नुहुन्थ्यो,’ उनले भने ।
वैद्यको गीतले जीवन बोकेको र जीवनको यथार्थतालाई अँगालेको बाँस्कोटाले बताए । उनी आफू पनि दिवंगत गायक वैद्यको आवाजको फ्यान भएको बताए ।

‘उहाँले कविता लेख्नुहुन्थ्यो । गीत पनि आफैं लेख्नुहुन्थ्यो । संगीत गर्नुहुन्थ्यो । मलाई लाग्छ, उहाँको घरमा धेरै सिर्जना त्यत्तिकै थन्किएका छन् अझै पनि,’ बाँस्कोटाले भने, ‘उहाँ जाँदै हुनुहुन्छ, तर उहाँले छाडेका कृतिहरू, उहाँका संगीतहरू, सुमधुर आवाजहरू सधैँ हामीमाझ रहिरहनेछन् ।’
संगीतकार संघका अध्यक्ष चेतन सापकोटाले वैद्यको आवाजले आफूजस्ता थुप्रै युवालाई काठमाडौं ल्याइपुर्याएको बताए ।

‘एउटा अद्भूत आवाज, जुन आवाजमा छुट्टै जादू थियो । जसले हामीजस्ता थुप्रै युवालाई काठमाडौं ल्याइपुर्यायो । म मात्र होइन कयौं युवालाई कलामा लाग्न त्यो आवाजले प्रेरित गर्यो,’ सापकोटाले भने, ‘त्यो आवाजले मायामा डुबेकाहरुलाई मायामा बहकिन पनि प्रेरित गर्यो । त्यो आवाजले देशका लागि पनि योगदान दियो ।’
उनले वैद्यलाई आफूले रेडियो नेपाल स्थापना गर्ने गायकका रुपमा समेत चिन्ने गरेको बताए । स्रष्टालाई राज्यको तर्फबाट सम्मान नभएको भन्दै सापकोटाले गुनासो समेत व्यक्त गरे । अग्रज स्रष्टाको निधन हुँदा राज्यका प्रमुख व्यक्तिहरू उपस्थिति भएर विदाइ गर्नुपर्ने उनले बताए ।

संगीत रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारीले अग्रज गायक वैद्य संसारमा नरहे पनि उनका आवाजहरू सधैभरि गुञ्जिइरहने बताए । ‘उहाँका गीत तुलनात्मक रुपमा थोरै होलान्, तर जति छन् ती संगीतका लागि अमूल्य रत्न छन्,’ अधिकारीले भने ।
काठमाडौंमै जन्मे–हुर्केका वैद्य सानै उमेरदेखि गीत गाउँथे । २०२२ सालमा रेडियो नेपालमा स्वर परीक्षा पास गरेका उनले पहिलो गीत नेपाल भाषाको गाएका थिए । उनको अति नै चर्चित गीत ‘सपना भुलाइ सारा...’ २०४२ सालमा रेकर्ड भएको थियो । उनले ३ दशक सरकारी सेवामा बिताएका थिए ।