२७ जेठ २०८३, बुधबार
म्युजिक भिडियो निर्माणमा कमी

म्युजिक भिडियो निर्माण ह्वात्तै घट्यो, किन हच्किए लगानीकर्ता ?

मंसिर १६, २०८०
काठमाडौं
म्युजिक भिडियो निर्माण ह्वात्तै घट्यो, किन हच्किए लगानीकर्ता ?

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे । 

पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको व्यस्तता पहिलेजस्तो छैन । ‘अहिले महिनामा ४/५ वटा मात्रैमा काम गरेको हुन्छु,’ उनले भने ।

म्युजिक भिडियोमा उनको मात्रै व्यस्तता घटेको भने होइन, अहिले भिडियो निर्माणमा नै धेरै कमी आएको लामिछाने बताउँछन् । 

null

‘मेरो अनुमानमा पहिलेको तुलनामा अहिले भइरहेको काम २५ प्रतिशत मात्रै हो,’ उनले लोकान्तरसँग भने, ‘भिडियो निर्माण ७५ प्रतिशतसम्म घटेको छ ।’ 

कुनै समय युट्युबमा दैनिक १० वटाभन्दा बढी म्युजिक भिडियो सार्वजनिक हुन्थे । हिजोआज एकाधमात्रै नयाँ म्युजिक भिडियोहरू सार्वजनिक हुन्छन् । 

रेकर्डिङ स्टुडियोमा पनि चहलपहल घटेको छ । राग रेकर्डिङ स्टुडियोका सञ्चालक आशिष अविरल पछिल्लो समय रेकर्डिङ झण्डै ६० प्रतिशतले घटेको अनुमान गर्छन् । 

null

सांगीतिक क्षेत्रमा निकै चलेका संगीतकार, संगीत संयोजक एवं गायक अविरलले भने, 'उसो त म अहिले चलचित्रको काम गरिरहने हुनाले अरु गीतको काम कम गर्छु । तर पनि मलाई दोहोरी गीतहरू एरेन्ज गराउनेहरूले जसरी अप्रोज गर्नुहुन्थ्यो, उहाँहरूले अहिले त्यति बल गर्नुहुन्न । कतिपय भएका गीतहरू पनि यहीँ पेन्डिङ भइरहेको हुन्छ ।’
 
गीत रेकर्डिङ र म्युजिक भिडियो निर्माण गर्दा कतै दर्ता गर्नुपर्ने नभएकाले पनि यसको यकिन तथ्यांक कसैसँग हुँदैन । तथ्यांक नभए पनि म्युजिक भिडियो निर्माणमा पछिल्लो समय ठूलो परिमाणमा कमी आएको यस क्षेत्रमा काम गर्दै आएकाहरू बताउँछन् । 

null

‘चाडपर्वमा पनि कम गीत आए’
कोरोनाको समयमा पनि म्युजिक भिडियो क्षेत्र चलायमान थियो । सो समयमा रेकर्डिङ र भिडियो निर्माणको काम धमाधम भइरहेको थियो । कोरोना कहर सकिएको केही समय पनि म्युजिक भिडियो निर्माण रफ्तारमा थियो । त्यसको केही समयपछि भने भिडियो निर्माण क्रमश घट्दै गएको निर्देशकहरू बताउँछन् । 

‘तीजमा माहोल सुधार हुन्छ कि भन्ने थियो । तर, यसवर्ष तीजमा पनि धेरै गीत आएनन् । त्यसपछि भिडियो निर्माण झन–झन घट्दै गयो,’ पछिल्लो समयका व्यस्त निर्देशक काजिश श्रेष्ठ भन्छन्, ‘दशैं तिहारपछि अहिले त सुनसान जस्तै छ । भिडियो निर्माणमा ८० प्रतिशतसम्मै कमी आएजस्तो लाग्छ ।’ 

घट्नुको कारण– निरन्तर घाटा
पछिल्लो समय म्युजिक भिडियो निर्माण खर्चिलो छ । औसतमा ३ लाख रुपैयाँसम्ममा भिडियो निर्माण हुने गरेको छ । चलेका कलाकारहरूलाई लिएर भिडियो बनाउँदा १०–१५ लाख रुपैयाँसम्म पनि खर्च हुन्छ । तर, यति महंगो लगानी गरेर निर्माण गरिएका भिडियोको आम्दानीको मुख्य स्रोत युट्युबबाट आउने ‘रेभिन्यू’ हो । यद्यपि, युट्युबबाट लगानी उठाउने गीत एकदमै कम हुने गरेका छन् । 

‘चलेकै गीतहरूले पनि युट्युबबाट लगानी रिकभर नगरेको वा नगर्ने अवस्था भएको हुनाले व्यवसायिक रूपमा काम गर्न हिच्किच्याइरहेको अवस्था छ,’ गायक, संगीतकार एवं संगीत संयोजक अविरल भन्छन्, ‘सोखले भिडियोमा लगानी गर्दै आएकाहरू पनि यसबाट पैसा उठ्दैन भनेर धेरै खर्च नगर्ने मनस्थितिमा पुगेको पाउँछु ।’
 
म्युजिक भिडियोमा लगानी गर्नेहरू आम्दानी नहुँदा निरुत्साहित हुँदै गएको उनको बुझाइ छ । त्यस्तै, धेरैतिर आर्थिक मन्दी छाउनु पनि भिडियो निर्माण घट्नुको अर्को कारण रहेको अविरल बताउँछन् । 

उनको अनुभवमा पहिले हुलमुलमा ठिक्क ठिक्कको कतिपय गीत पनि राम्रो चलेको पाइन्थ्यो । त्यो बेला जो बाठो छ त्यसले कसैको वालमा गीत पुर्‍यायो भने चल्थ्यो । तर, अहिले गीत आएपछि त्यो राम्रो छ भन्ने ‘माउथ पब्लिसिटी’ भएपछि चल्ने गरेको बुझाइ अविरलको छ । 

अहिले ‘जेनियुन कन्टेन्ट’ चल्न थालेपछि रहरमा लगानी गर्नेहरू पछि हट्नु पनि गीत रेकर्डिङ र भिडियो निर्माण घट्नुको अर्को कारण रहेको उनी बताउँछन् । 

निर्देशक काजिश श्रेष्ठ देशको अस्तव्यस्त राजनीतिक माहोल पनि म्युजिक भिडियोमा लगानी घट्नुको एउटा कारण रहेको बताउँछन् । ‘दर्शकलाई युट्युबमा राजनीतिक घटनाहरू हेर्दै ठिक्क छ । भिडियोले अपेक्षित भ्युज पाइरहेका छैनन् । भ्युज नगएपछि लगानी रिटर्न छैन । त्यसमाथि आर्थिक मन्दीको प्रभाव छ । कलाकारहरू आफैं विकल्प खोजिरहेका छन्,’ उनी भन्छन्, ‘भिडियो निर्माण घट्नुमा धेरै कारणहरूले प्रभाव पारेको छ ।’ समग्रमा भन्दा लगानी रिर्टन नहुँदा म्युजिक भिडियोमा लगानी गर्न डराइरहेको अवस्था रहेको उनी बताउँछन् । 

कोरिगोग्राफर लामिछाने पनि युट्युबबाट लगानी गरेअनुसारको रेभिन्यू नआउनु म्युजिक भिडियोको निर्माण घट्नुको मुख्य कारण रहेकोमा सहमत छन् । ‘सधैं रहरमा भिडियो गरेर भएन । जुन रूपमा पैसा लगानी हुन्छ, अहिले त्यसको रिटर्न छैन । सोही कारण लगानीकर्ताहरू हतोत्साहित भएजस्तो लाग्छ,’ उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्