
आईसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपालले आज (आइतबार) न्युजिल्यान्डसँग खेल्दैछ । जारी विश्वकपमा नेपाली युवा टोलीले पहिलो खेल आज न्युजिल्यान्डविरुद्ध खेल्न लागेको हो ।
दुई देशबीचको खेल नेपाली समयानुसार दिउँसो पौने २ बजे शुरू हुनेछ । न्युजिल्याण्डलाई हराउँदै विश्वकपमा सुखद् शुरूआत गर्ने लक्ष्यमा नेपाल हुनेछ । समूह डी बाट शीर्ष तीनमा रहँदै सुपर सिक्स खेल्न आजको नतिजा दुवै टोलीलाई निकै महत्वपूर्ण हुनेछ । नेपालको कप्तानी देव खनाल र न्युजिल्यान्डको ओस्कर ज्याक्सनले गर्ने छन् ।
हेड टु हेडमा भने नेपाल अगाडि छ । यू-१९ विश्वकपमा न्युजिल्याण्डसँग नेपालको यो तेस्रो भेट हो । यस भएका दुवै भेटमा नेपाल विजयी भएको थियो ।
नेपाल र न्युजिल्याण्डको पहिलो भेट २००६ मा भएको यू-१९ विश्वकप क्रिकेटमा भएको थियो । श्रीलङ्काको कोलम्बोमा भएको उक्त भेटमा नेपालले न्युजिल्याण्डलाई १ विकेटले पराजित गरेको थियो ।
न्युजिल्याण्डले दिएको २०५ रनको लक्ष्य नेपालले ४९ ओभर २ बलमा ९ विकेट गुमाउँदै पूरा गरेको थियो ।
त्यसको १० वर्षपछि यू-१९ विश्वकपमा नेपाल र न्युजिल्याण्डबीच दोस्रो भेट भएको थियो । उक्त खेलमा पनि नेपालले न्युजिल्याण्डलाई पराजित गरेको थियो । नेपालले दिएको २३८ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्ड ४७ ओभर १ बलमा २०६ रनमा समेटिएको थियो ।
८ वर्षपछि आज नेपालले तेस्रो पटक न्युजिल्याण्डको सामना गर्दै छ । नेपालले यस पटक पनि न्युजिल्याण्डलाई पराजित गर्दै नेपाल जितको ह्याट्रिक गर्न चाहन्छ ।
जनवरी २४ तारिखमा नेपालले पाकिस्तान र तेस्रो खेल जनवरी २७ तारिखमा अफगानिस्तानसँग खेल्नेछ ।
यू–१९ विश्वकपको १५औँ संस्करणमा नेपालसहित १६ वटा टोलीको सहभागिता छ । प्रतियोगितामा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ। नेपाल प्रतियोगिताको समूह ‘डी’ मा परेको छ।
नेपालको समूहमा अफगानिस्तान, न्युजिल्यान्ड र पाकिस्तान पनि परेका छन् ।
युवा विश्वकपमा नेपालले ८ वर्षपछि पुनरागमन गरेको हो। २०१६ मा बंगलादेशमा भएको प्रतियोगितामा पनि नेपालले सहभागिता जनाएको थियो । त्यसयता नेपाल यू–१९ विश्वकपमा पहिलो पटक खेल्दै छ।
आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताको १५औँ संस्करण शुक्रबारदेखि दक्षिण अफ्रिकामा शुरू भएको थियो ।
सन् १९८८ मा पहिलो पटक अष्ट्रेलियामा आयोजना भएको यू–१९ क्रिकेट विश्वकप यसपटक सुरुमा श्रीलंकामा हुने तय थियो । तर आईसीसीले श्रीलंका क्रिकेटलाई निलम्बन गरेपछि प्रतियोगिता दक्षिण अफ्रिकाले आयोजना गर्ने भएको हो ।
नेपाल टिम
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुल्सनकुमार झा, दिपेशप्रसाद कँडेल, विशालविक्रम केसी, सुवास भण्डारी, दिपक बोहरा, दीपक बोहरा, उत्तम रंगु थापा मगर, विपिन रावल, तिलकराज भण्डारी, आकाश चन्द।