२४ असार २०८३, बुधबार
इसेवाको कालो धन्दा

अवैध क्रिप्टो कारोबार र अनलाइन बेटिङमा इसेवा, उजुरी कुर्दै राष्ट्र बैंक

माघ १५, २०८०
काठमाडौं
अवैध क्रिप्टो कारोबार र अनलाइन बेटिङमा इसेवा, उजुरी कुर्दै राष्ट्र बैंक

'सुप्रिम' युजर नेम रहेका एक क्रिप्टोकरेन्सी कारोबारीले सिम्लिक्स (symlix) नामको ट्रेड प्लेटफर्ममा पोस्ट गरे, 'म इसेवाको माध्यमबाट बिटक्वाइन किन्न चाहन्छु ।'

उनको पोस्टमा 'सेल' अप्सन थियो । त्यहाँ क्लिक गरेपछि आउने पेमेन्ट मेथड अप्सनमा नेपाली करेन्सीमा इसेवाबाट मात्र कारोबार गर्न मिल्ने उल्लेख छ ।

त्यस्तै मेलम्चीका 'समीर२३४' युजरनेम भएका अर्का कारोबारीले इसेवामार्फत लाइटक्वाइन बेच्ने प्रस्ताव राखेका छन् । सोही ट्रेड प्लेटफर्ममार्फत इसेवा प्रयोग गरेर उनले यसअघि ८ पटकमा डेढ लाखभन्दा बढीको कारोबार गरेको उनको ट्रेड हिस्ट्रीमा देखिन्छ ।

तामाङसाजन१०३ युजरनेम भएका बर्दियाका अर्का कारोबारीले पनि इसेवामार्फत नै बाइनान्स क्वाइन बेच्ने अफर राखेका छन् ।

null

रुकुमका विनय१२ ले इसेवामार्फत बिटक्वाइन किन्ने अफर दिएका छन् भने गोर्खाका कुशल श्रेष्ठले इसेवामार्फत नै टोर्न (torn) नामको क्रिप्टोकरेन्सी किन्ने अफर राखेका छन् ।

त्यहाँ क्लिक गर्ने, पेमेन्ट मेथडमा इसेवा छान्ने र आफ्नो फोन नम्बर र एमपिन/पासवर्ड राखेर क्रिप्टोको मूल्य बराबरको एमाउन्ट छान्ने हो भने कारोबार सफल हुन्छ ।

सिमलिक्समा इसेवामार्फत कारोबार गर्न सकिने अप्सन बायाँतर्फ अन्तिमबाट दोस्रो

नेपालमा गैर-कानूनी र अवैध मानिएको क्रिप्टो करेन्सीको कारोबार यति सहजै इसेवा प्रयोग गरेर ट्रेडिङ प्लेटफर्ममा किनबेच गर्न पाइने पुष्टि माथिका केही उदाहरणहरूले गरेका छन् । यद्यपि स्रोतका अनुसार नेपालमा इसेवा प्रयोग गरेर क्रिप्टो कारोबार गर्नेको संख्या साढे ३ देखि ४ लाखको हाराहारीमा छ ।

इसेवाले क्रिप्टो कारोबारमा सिम्लिक्ससँग मात्र सम्झौता गरेको छैन, रेमिट्यानो नामको अर्को ट्रेड प्लेटफर्ममा पनि इसेवाको प्रयोग गर्न सकिन्छ । रेमिट्यानोको पेमेन्ट अप्सनमा इसेवा देखाउँछ भने बैंकहरूको डेबिट/क्रेडिट कार्ड पनि प्रयोग गर्न सकिन्छ ।

इसेवामा टिक लगाएर कारोबार गर्न सकिने अप्सन

बाइनान्स, क्राकेन र क्वाइनमामाजस्ता अन्य ट्रेड प्लेटफार्ममा पनि इसेवाको माध्यमबाट क्रिप्टोकरेन्सी खरिद बिक्री गर्न सकिन्छ ।

नेपाल राष्ट्र बैंकले २०७८ को भदौ २४ गते क्रिप्टोकरेन्सीको कारोबार गैर-कानूनी भएकाले यो नगर्न र नगराउन आग्रह गर्दै सूचना जारी गरेको थियो ।

'नेपालमा कुनै पनि प्रकारका क्रिप्टोकरेन्सीहरूको कारोबार/प्रयोग/माइनिङ गैर-कानूनी रहेकाले यस्ता कारोबारसम्बन्धी कार्य नगर्नु/नगराउनु हुन विदेशी विनिमय ऐन २०१९ ले दिएको अधिकार प्रयोग गरी यो सूचना जारी गरिएको छ,' राष्ट्र बैंकको सूचनामा भनिएको छ ।​

null

एक वर्ष अगाडि नेपाल दूरसञ्चार प्राधिकरणले पनि एउटा सूचना जारी गर्दै भनेको थियो, 'क्रिप्टोकरेन्सी, बिटकोइन, हाइपर-नेटवर्किङ, अनलाइन जुवालगायतका गैरकानूनी क्रियाकलाप तथा आर्थिक अपराधसँग सम्बन्धित वेबसाइट, एप, अनलाइन सञ्जाललगायत भर्चुअल माध्यमको नेपालभित्र प्रयोग, सञ्चालन र व्यवस्थापन गर्न नपाउने गरी तथा त्यस्ता वेबसाइट, एप वा अनलाइन सञ्जालमा पहुँच हुन नसक्ने व्यवस्था गर्न सबै इन्टरनेट सेवाप्रदायकलाई निर्देशन जारी गरिएको छ ।'

शक्तिकेन्द्रको आडमा इसेवाको गैर-कानूनी धन्दा, उजुरी कुर्दै राष्ट्र बैंक

कसैले यस्तो कारोबार गरेमा कानूनअनुसार सजाय हुने राष्ट्र बैंकले त्यतिबेलै चेतावनी दिएको थियो । तर, नेपालमा अत्यधिक प्रयोग गरिने मोबाइल वालेट इसेवामार्फत यस्तो कारोबार हुने गरेको भए पनि शक्तिको आडमा इसेवा र यसका सञ्चालकहरूमाथि कुनै कारबाही हुन सकेको छैन । 

राष्ट्र बैंक भने उजुरी आएमा कारबाही गरिने बताउँछ । सूचना अधिकारी डा. डिल्लीराम पोखरेलले लोकान्तरसँग भने, 'अहिलेसम्म राष्ट्र बैंकमा क्रिप्टोकरेन्सीसँग सम्बन्धित उजुरी परेको छैन । यस्तो अवैध गतिविधि गर्नेहरूले उजुरी गर्दैनन् । यसबाट पैसा कमाए पनि र गुमाए पनि आफू नै दोषी हुने भएकाले उजुरी नपरेको हुन सक्छ ।'

मोबाइल वालेट प्रयोग गर्दा आफू ठगिएको भन्दै राष्ट्र बैंकमा गरिएका उजुरीको चाङ भने टन्नै छन् । डा. पोखरेलले भने, 'इसेवालगायतमा मोबाइल वालेटमा विभिन्न समस्या आएको भन्दै राष्ट्र बैंकमा उजुरी गर्नेको संख्या प्रशस्त भएपनि क्रिप्टोकरेन्सीबारे उजुरी परेका छैनन् ।'

राष्ट्र बैंकले लोकान्तरलाई पठाएको उजुरीसम्बन्धी सूचनामा भनिएको छ, 'विभिन्न निकाय तथा व्यक्तिहरूबाट विभिन्न माध्यमहरूबाट मोबाइल वालेट प्रयोगकर्ताहरूबाट जानकारीमा आएकामध्ये आर्थिक वर्ष २०७९/८० मा ४६ र चालू आर्थिक वर्षमा २९ वटा गुनासाहरूको सम्बोधन भएको छ ।'

कतिपय गुनासाहरू गम्भीर प्रकृतिका रहेको राष्ट्र बैंकले जनाएको छ । 

क्रिप्टो मात्र होइन, अवैध अनलाइन बेटिङमा पनि इसेवा

क्रिप्टो मात्र होइन, इसेवा पछिल्लो समय अनलाइन बेटिङ (जुवा)मा पनि डरलाग्दो गरी लागेको तथ्यहरूले पुष्टि गर्छन् । फूटबल, क्रिकेटलगायत ठूला खेलमा अनलाइन माध्यमबाट हुने बेटिङ नेपालमा मौलाइरहेको छ । गैरकानूनी अनलाइन जुवा ‘वानएक्सबेट’को प्रयोग नेपालमा बढ्दो छ । यसको लतमा नेपाली युवा फसिरहेका छन् र यसको मुख्य मतियार बनेको छ, इसेवा ।

वनएक्सबेटको वेबसाइटमा खाता खोलेपछि कुन खेलका लागि जुवा खेल्ने हो भन्ने अप्सन आउँछ । त्यहाँ पेमेन्ट मेथडका रूपमा इसेवा पहिलो नम्बरमा छ । तर इसेवा नै हो भन्ने पुष्टि नहुने गरी हरियो रंगमा 'वालेट' लेखिएको छ ।

त्यसमा क्लिक गर्दा खुल्ने पपअप विन्डोमा पनि वालेट नै लेखिएको देखिन्छ । उक्त पपअप विन्डोमा उल्लेखित निरमाया तामाङ नामको युजरनेमको नम्बर ९८०१०७१०१२ मा कल गर्दा भने उपलब्ध हुन नसक्ने बताइन्छ । 

null

सोही नाम र नम्बरको पुछारमा लेखिएको 'सेक्योर योर ट्रान्सफर'मा क्लिक गर्दा नयाँ विन्डो खुल्छ । त्यहाँ 'इसेवाबाट वनएक्सबेटमा सुरक्षित ढंगले पैसा कसरी डिपोजिट गर्ने ?' भनेर पुरै प्रक्रिया बताइएको छ ।

प्रक्रियाबारे व्याख्या गर्दै त्यहाँ लेखिएको छ, 'इसेवाका ग्राहकहरूलाई एक अर्कालाई सुरक्षित रूपमा पैसा पठाउन सक्षम बनाउने हाम्रो सेवालाई सेक्योर्ड ट्रान्सफर भनिन्छ । पठाइएको पैसा लेनदेन पूरा भइरहेको बेला पठाउने मान्छेको खातामा राखिन्छ, जुन सेवाको उत्कृष्ट सुविधा हो । प्राप्तकर्ताले आफ्नो दायित्व पूरा गरेपछि पठाउने मान्छेले प्राप्तकर्तालाई पैसा जारी गरेमा लेनदेन धोखाधडी हुँदैन ।'

null

कानून टेर्दैन इसेवा

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार इसेवा प्रयोग गरेर हुने ठगी र गैर-कानूनी क्रियाकलापबारे परेका उजुरीहरू छानबिनका क्रममा दर्जनौंपटक इसेवालाई बोलाएर सोधपुछ गरिएको छ ।

'हामी प्रत्येक दिनजसो उनीहरूलाई बोलाएर सोधपुछ गरिरहेका हुन्छौं,' कार्यालयका एक अनुसन्धान अधिकृतले लोकान्तरसँग भने, 'जस्तो व्यक्तिलाई पनि खाता खोल्न दिएको छ । जस्तोसुकै नागरिकता र फोटो प्रयोग गरे पनि केवाईसी भेरिफाइ गर्दिएको छ । एउटै मान्छेले सयौं सिम किनेर फर्जी नागरिकता बनाएर आईडी खोल्ने गरेको विषयलाई उनीहरू आफैंले नियमन गर्न सक्नुपर्ने हो, तर अटेर गर्छन् ।'

उनले इसेवाको नियत सही भइदिए बेटिङ र क्रिप्टोजस्तो गैरकानूनी काम क्षणभरमै रोक्न सकिने बताए ।

'इसेवा नै गैर-कानूनी गतिविधिमा लागेको प्रमाण जुटाउन सजिलो छैन, तर यिनीहरू नियतवश नै यस्तो धन्दा फैलाउने काममा लागेकोजस्तो देखिन्छ,' उनले भने, 'यस्तो गतिविधि गर्नकै निम्ति उनीहरूले प्राविधिक कारण देखाएर कडाइ गर्न नसकेको भन्दै एक्सक्युज माग्छन् ।'

अपराध अनुसन्धान कार्यालयले लोकान्तरलाई उपलब्ध गराएको विवरणमा पछिल्लो ३ वर्षमा १ हजारभन्दा बढी गम्भीर प्रकारका ठगीका उजुरी इसेवा प्रत्यक्ष संलग्नता देखिने खालका छन् ।

विवादित व्यक्तिको हातमा इसेवा, कानून छल्ने र पैसा कमाउने पुरानो धन्दा

१५ वर्षअगाडि स्थापित इसेवा कम्पनीको दाबीअनुसार हालसम्म इसेवा प्रयोग गर्ने प्रयोगकर्ताको संख्या ८१ लाख पुगेको छ । हाल देशभरमा करिब २ लाख ३० हजार एजेन्टहरू रहेका दाबी इसेवाको छ ।

८० लाखभन्दा बढी प्रयोगकर्ताको तथ्यांक जोखिममा पारिरहेको इसेवाका मुख्य हर्ताकर्ता असगर अली र विश्वास ढकाल हुन् । १५ वर्षअघि उनीहरूले सुवास शर्मा र सुभाष सापकोटा लगायतसँग मिलेर इसेवा स्थापना गरेका थिए । शुरूमा अलीले इसेवाको नेतृत्व गरे पनि अहिले इसेवाको माउ कम्पनी एफवनसफ्टको अध्यक्षको जिम्मेवारी ढकालले सम्हालेका छन् ।

इसेवाले शुरुवातदेखि नै गैर-कानूनी कामकारबाही गर्दै आएको आरोप लाग्ने गरेको छ ।

यसअघि सन् २०१३ ताका 'क्यास अन एड' नामको एप्लिकेसन डाउनलोड गर्न लगाएर एन्ड्रोइड मोबाइल प्रयोगकर्ताहरूलाई ठगी गरेको आरोप उनीहरूमाथि लागेको थियो ।

विज्ञापन हेरिदिएबापत सेवाग्राहीले पैसा पाउने दाबी उनीहरूले गरेका थिए । उक्त एप फेसबूकले १ अर्ब डलरमा किन्न लागेको हौवा समेत फैलाएर ब्रान्डिङ गरे । त्यतिबेला सो एप ७ लाख पटक डाउनलोड भएको थियो ।

विज्ञापन दातासँग करोडौं असुलेको तथा दाबी अनुसार सेवाग्राहीलाई एक पैसा पनि नदिएको आरोप लाग्यो । पछि रातारात गुगल प्लेस्टोरमा पुरानो एप हटाएर नयाँ राखियो । नयाँमा पनि विज्ञापन त आउँथ्यो, तर पैसा आउने-नआउने कन्फर्म थिएन । डेढ वर्षपछि 'क्यास अन एड' फ्लप भयो । उनीहरू कानूनको अभावमा उम्के ।

एक आर्थिक अनलाइनलाई अन्तर्वार्ता दिँदै ढकालले क्यास अन एड बन्द भइसकेको, इसेवा र एफवनसफ्ट दुवै आफूले नहेर्ने भन्दै झूट बोलेका थिए । जबकि त्यतिबेला एफवनसफ्ट र यसको भगिनी कम्पनी इसेवा दुवैको मुख्य जिम्मेवारीमा ढकाल नै थिए ।

अहिले क्रिप्टो कारोबार र अनलाइन बेटिङमा संलग्नताबारे बुझ्न खोज्दा इसेवाका कुनै पनि प्रतिनिधि सम्पर्कमा आउन चाहेनन् । अली र ढकालसँग पनि कुराकानी हुन सकेन ।

salt training

कमेन्ट गर्नुहोस्